सहिद स्मारक ‘सी’ डिभिजन लिग

बागमतीको विजयी सुरुआत

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा सर्लाहीको बागमती युवा क्लबले विजयी सुरुआत गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा  बागमतीले सानेपा क्लबलाई ३-१ ले पराजित गर्यो ।

बागमतीलाई जित दिलाउन कप्तान विमल घिसिङ र सृजनराज गौतमले गोल गरे । बागमतीले एक गोल भने आत्मघाती उपहार स्वरुप पायो । सानेपाका पेम्बा दोर्जे लामाले एक गोल फर्काए  ।

विमलले ३१औँ मिनेटमा गोल गर्दै बागमतीलाई अग्रता दिलाए । ६०औँ मिनेटमा सृजनराजले टोलीको अग्रता दोब्बर बनाए ।

पेम्बाले पेनाल्टीमा गोल गर्दै ७६औं मिनेटमा खेललाई २-१ को स्थितीमा ल्याए । तर, खेल सकिन पाँच मिनेट बाँकी छँदा सानेपाका अमित केसीबाट आत्मघाती गोल हुन पुग्दा बागमतीले ३-१ को जित निकाल्यो ।