काठमाडौं । क्रिकेटमा २० ओभरको छोटो स्वरुप ट्वान्टी-२० सबैभन्दा कान्छो प्रयोग हो । यही कारण यसका प्रतियोगिता र गतिविधि पनि एकदिवसीय र टेस्ट क्रिकेटको तुलनामा नयाँ नै छन् ।
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को छातामुनि ट्वान्टी-२० अन्तर्राष्ट्रिय नयाँ संरचना भए पनि छोटो र रोमाञ्चक हुने भएकाले यो छोटो समयमै लोकप्रिय भइसकेको छ ।
ट्वान्टी-२० क्रिकेटको सुरुआत सन् २००२ मा भएको मानिन्छ । पहिलो अन्तर्राष्ट्रिय खेल भने सन् २००४ मा इङ्ल्यान्ड र न्युजिल्यान्डको महिला टोलीबीच भएको थियो । ५ अगस्टमा भएको उक्त खेल न्युजिल्यान्डले ९ रनले आफ्नो पक्षमा पारेको थियो ।
पहिलो संस्करण आयोजना गर्ने जिम्मा दक्षिण अफ्रिकाले पाएको थियो । सेप्टेम्बर ११ देखि २४ सम्म दक्षिण अफ्रिकाका तीन मैदानमा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।
पुरुषमा अस्ट्रेलिया र न्युजिल्यान्डले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलका थिए । सन् २००५ फेब्रुअरी १५ मा भएको उक्त खेलमा अस्ट्रेलिया ४४ रनले विजयी भएको थियो ।
लोकप्रियता बढ्दै गएपछि सन् २००७ मा आइसिसीले ५० ओभरमा जस्तै ट्वान्टी-२० मा पनि विश्वकप सुरुआत भयाे ।
पहिलो संस्करण आयोजना गर्ने जिम्मा दक्षिण अफ्रिकाले पाएको थियो । सेप्टेम्बर ११ देखि २४ सम्म दक्षिण अफ्रिकाका तीन मैदानमा भएको प्रतियोगितामा १२ टोलीको सहभागिता थियो ।
त्यसमा १० टोलीले वरीयताका आधारमा सिधै विश्वकप खेल्ने अवसर पाउँदा केन्या र स्कटल्यान्डले भने विश्व क्रिकेट लिग डिभिजन १ को शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका थिए । कुल २७ खेल भएको प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष दुई टोली सुपर एटमा पुग्ने नियम थियो ।
समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका, बंगलादेश र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा अस्ट्रेलिया, इङ्ल्यान्ड र जिम्बावे थिए । समूह ‘सी’ मा श्रीलंका, न्युजिल्यान्ड र केन्या तथा समूह ‘डी’ मा भारत, पाकिस्तान र स्कटल्यान्ड थिए ।
भारत र पाकिस्तानबीचको फाइनल सेप्टेम्बर २४ मा जोहानसबर्गस्थित वन्डरर्स क्रिकेट मैदानमा भएको थियो । ५ रनको रोमाञ्चक जित निकाल्दै भारत पहिलो संस्करणको च्याम्पियन बन्यो ।
समूह ‘ए’ बाट दक्षिण अफ्रिका र बंगलादेश, ‘बी’ बाट अस्ट्रेलिया र इङ्ल्यान्ड, ‘सी’ बाट श्रीलंका र न्युजिल्यान्ड तथा ‘डी’ बाट भारत र पाकिस्तानले सुपर एटमा स्थान सुरक्षित गरेका थिए ।
सुपर एटमा पनि दुई समूह विभाजन गरिएको थियो । समूह ‘ए’ मा भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र इङ्ल्यान्ड तथा समूह ‘बी’ मा पाकिस्तान, अस्ट्रेलिया, श्रीलंका र बंगलादेश थिए ।
समूह ‘ए’ बाट भारत र न्युजिल्यान्ड तथा समूह ‘बी’ बाट पाकिस्तान र अस्ट्रेलियाले सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेट र भारतले अस्ट्रेलियालाई १५ रनले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
भारत र पाकिस्तानबीचको फाइनल सेप्टेम्बर २४ मा जोहानसबर्गस्थित वन्डरर्स क्रिकेट मैदानमा भएको थियो । ५ रनको रोमाञ्चक जित निकाल्दै भारत पहिलो संस्करणको च्याम्पियन बन्यो ।
फाइनलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो । भारतका लागि गौतम गम्भीरले ५४ बलमा ८ चौका र २ छक्का मद्दतले सर्वाधिक ७५ रन बनाएका थिए । पाकिस्तानका उमर गुलले सर्वाधिक ३ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तान १५२ रनमै समेटिएको थियो । पाकिस्तानका मिसबाह उल हकले ३८ बलमा चार छक्काको मद्दतले सर्वाधिक ४३ रनको योगदान गरेका थिए । भारतका लागि इरफान पठानले सर्वाधिक तीन विकेट लिएका थिए ।
प्रतियोगितामा एकमात्र शतक वेस्ट इन्डिजका क्रिस गेलले बनाएका थिए । उनले उद्घाटन खेलमै दक्षिण अफ्रिकाविरुद्ध ११७ रनको सनसनीपूर्ण इनिङ्स खेलेका थिए । प्रतियोगितामा कुल २६ अर्धशतक बनेको थियो ।
प्रतियोगितामा पाकिस्तानका शहिद अफ्रिदी सर्वोत्कृष्ट खेलाडी भएका थिए । उनले प्रतियोगिताका ७ खेलमा ९१ रन बनाउनुका साथै ६.७१ को औसतमा १२ विकेट लिएका थिए । १९ रन खर्चिएर चार विकेट लिनु अफ्रिदीको उच्च प्रदर्शन थियो ।
अस्ट्रेलियाका म्याथ्यु हेडन ६ खेलमा २६५ रन बनाउँदै उच्च रनकर्ता बनेका थिए । चार अर्धशतक प्रहार गरेका हेडनको स्ट्राइक रेट १४४.८० थियो । अविजित ७३ रन बनाउनु उनको उच्च प्रदर्शन थियो ।
पाकिस्तानकै उमर गुल सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ७ खेलमा ५.६० को औसतमा १३ विकेट लिएका थिए । २५ रन दिएर ४ विकेट लिनु प्रतियोगितामा गुलको उत्कृष्ट प्रदर्शन थियो ।