कतार विश्वकप २०२२

इङ्ल्यान्डको सम्भावना बलियो

लन्डन । ह्यारी केनको ह्याट्रिकप्रेरित इङल्यान्डले शुक्रबार राती विश्वकप छनोटमा अल्वानियालाई ५-० ले पराजित गरेको छ । 

यद्धपी समूह ‘आई’ टोलीले अर्को वर्ष कतारमा हुने विश्वकपमा स्थान बनाउन सोमबार हुने सान मारियोविरुद्धको खेलसम्म कुर्नुपर्ने भएको छ ।

१०औं मिनेटमा रिसे जेम्सको पासमा ह्यारी मग्वायरले हेडमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

१८औं मिनेटमा केनले इङ्ल्यान्डको अग्रतालाई दोब्बर पारे । २८औं मिनेटमा केनकै पासमा जोर्डन हेन्डरसनले इङ्ल्यान्डबाट तेस्रो गोल गरेका थिए ।

त्यस्तै ३३औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दा इङ्ल्यान्ड सहज जिततर्फ अघि बढेको थियो । पहिलो इन्जुरी समयमा केनले ह्याट्रिक पूरा गर्दा इङ्ल्यान्डले सानदार जितका साथ विश्वकप छनोट सम्भावना बलियो पारेको हो । 

नौ खेलमा २३ अंकसहित इङ्ल्यान्ड शीर्ष स्थानमा छ भने समान खेलमा २० अंक बटुलेको पोल्यान्ड दोस्रो स्थानमा छ । तेस्रो स्थानमा अल्बानियाको १५ अंक छ ।

शुक्रबार भएको समूह ‘आई’ को अन्य खेलमा पोल्यान्डले एन्डोरालाई ४-१ र हंगेरीले सान मारिनोलाई ४-० ले पराजित गरेका छन् ।