पुर्व कप्तान अनिल स्वस्तिश्री गुरुकुलको सद्भावना दुत

काठमाडौं, (खेलाडी)– राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान अनिल गुरुङलाई स्वस्तिश्री गुरुकुल स्कुलले सद्भावना दुत नियुक्त गरेको छ । 

बुधबार स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार र अनिल गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

‘खेलाडीलाई दिएको यो विशेष अवसर हो । स्वस्तिश्री गुरुकुलसँग जोडिन पाउँदा एकदमै खुशी लागेको छ, सम्झौतापछि अनिलले भने, 'आफ्नो तर्फबाट सक्दो राम्रो गर्नेछु ।’

स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले अनिललाई सद्भावना दुत बनाउन पाउँदा धेरै खुशी भएको बताए । 

‘सद्भावना दुतको रुपमा उहाँलाई पाउँदा धेरै खुशी छौं । फुटबलको हितमा यो कोसेढुंगा सावित हुनेछ । यहाँ फुटबलसँगै फुटसल, बास्केटबल, स्वीमिङ र टेवल टेनिसको पुर्वाधार तयार छन् । स्वस्तिश्री गुरुकुल स्पोर्ट्स एकेडेमीलाई स्पोर्ट्स हवको रुपमा बढाउने हाम्रो लक्ष्य छ,’ उनले भने । 

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वस्तिश्री गुरुकुलले राम्रो कामको सुरुवात गरेको बताए । 

सोही अवसरमा स्वस्तिश्री गुरुकुल हाताभित्रै निर्माण भएको फुटसल कोर्टको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरे ।