काठमाडौंलाई हराउँदै भैरहवा फाइनल नजिक

काठमाडौं, (खेलाडी)- भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनल प्रवेशका लागि पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बुधबार भएको दोस्रो क्वाफिलायरमा र्भैरहवाले काठमाडौं किंग्स इलेभनलाई १६ रनले हरायो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भैरहवाले प्रस्तुत गरेको एक सय ८९ रनको लक्ष्य पछ्याएको काठमाडौले निधौरित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ७२ रन मात्र जोड्न सक्यो ।

काठमाडौंका ओपनर आसान प्रियञ्जनले सर्वाधिक ६८ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । उनले ४८ बलमा पाँच चोैका र चार छक्का प्रहार गरे ।

भैरहवाका धमिका प्रशाद, आरिफ शेख र कुशल मल्लले समान दुई विकेट तथा दुर्गेश गुप्ताले एक विकेट लिए ।

दोस्रो क्वालिफायरको विजेता भैरहवाले बिहिबार पहिलो क्वालिफायरको पराजित टोली पोखराको सामना गर्नेछ । यसअघि बुधबार भएको पहिलो क्वाफिलायरमा पोखरालाई नौ विकेटले हराउँदै चितवन फाइनल प्रवेश गरिसकेको छ । 

टस जितेर ब्याटिङ रोजेको भैरहवाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८८ रनको योगफल खडा गरेको थियो ।

भैरहवाका काप्तान शरद भेषावकरले ४९, ओपनर प्रदिप ऐरीले ३९, उपुल थरांगाले ३५ र तमिम इकवालले ३२ रन जोडे ।

काठमाडौंका सन्दिप लामिछाने र आसान प्रियञ्जनले समान दुई तथा जितेन्द्र मुखिया, शेर मल्ल र जनक प्रकाशले समान एक विकेट लिए ।

फाइनल शनिबार हुनेछ ।