इङ्लिस प्रिमियर लिग

आर्सनल नै मेरा लागि सही क्लबः साका

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलसँगको सम्झौता लामो समयका लागि नबिकरण गरेसँगै बुकायो साकाले क्लबमा थप सफलता प्राप्त गर्ने आशा व्यक्त गरेका छन ।

२१ वर्षका साकाले यस सिजन मिकेल अर्टेटाको टोलीका लागि प्रिमियर लिगको ३७ खेलमा १३ गोल गरेका थिए भने ११ गोलका लागि असिस्ट गरेका थिए । मार्चसम्म शीर्ष स्थानमा ८ अंकको अग्रता लिएको आर्सनलले त्यसपछि भने लगातार खराब प्रदर्शन गरेसँगै दोस्रो स्थानमा झरेको थियो ।

 शनिबार आर्सनलले नटिङघम फरेस्टलाई नतिजा सुम्पिएसँगै म्यानचेस्टर सिटीले ३ खेल अगावै प्रिमियर लिगको उपाधि जितेको थियो । 
उनले आर्सनलबाट एफए कप र कम्युनिटी शिल्ड जितेका थिए ।

‘म निकै खुशी छु । मेरो नयाँ गन्तब्यकाबारेमा धेरै खबरहरु सार्वजनिक भए । तर मैले आर्सनलमै बस्ने निर्णय लिएको छु’,साकाले भने, ‘मेरो लागि यो सही क्लब हो । मैले यहाँ नै थप सफलताहरु चुम्न सक्छु ।’

सन् २०१८ मा आर्सनलबाट डेब्यु गरेका साकाले टोलीबाट १ सय ७८ खेल खेलिसकेका छन ।