सहिद स्मारक ‘बी’ डिभिजन लिग

‘बी’ डिभिजन क्लब र एन्फाबीचको बैठक निस्कर्षविहिन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र सहिद स्मारक ‘बी’ डिभिजन लिग क्लबबीचको बैठक निस्कर्षविहिन बनेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार भएको बैठकबाट ‘बी’डिभिजन लिगको नयाँ मिति तोक्ने तयारी गरिएको थियो ।

सहभागी १४ क्लबले रोकिएको लिगको क्षतिपूर्ति तिर्नुपर्ने अडान कायम राखेका थिए । तर, एन्फाले क्षतिपूर्ति तिर्न सक्ने अवस्था नरहेको बताएपछि बैठक निस्कर्षविहिन बनेको हो ।

अब, अर्को साता बैठक बोलाइएको छ । आगामी मंगलबार बस्ने बैठकले नयाँ मिति तोक्ने श्रोतले बतायो ।

‘सहभागी क्लब र एन्फाबीच बैठक बस्यो । तर, क्षतिपूर्तिको कुरा नमिल्दा बैठकले पूर्णता पाएन,’ एक उच्च स्रोतले खेलाडीसँग भन्यो ।

सहभागी १४ क्लबका पदाधिकारीसहित एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष दीपक खतिवडा, सदस्यहरु मनिष जोशी र पुरुषोत्तम थापाकासाथै महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशी बैठकमा उपस्थित थिए ।

क्लबहरुले क्षतिपूर्ती नपाउँदासम्म लिगको तयारी गर्न नसकिने अडान राखेपछि बैशाख ६ गतेको पछिल्लो छलफल विना निश्कर्ष टुङ्गिएको थियो । सुरुमा चैत १५ बाट दोस्रो डिभिजनको लिग गर्ने घोषणा गरेको एन्फाले गत फागुन १७ गते बसेको विवादास्पद बैठकबाट एकपक्षीय रुपमा चैत २९ बाट सुरु गर्ने गरि अर्को निर्णय गरेको थियो ।

सम्बन्धित सबै १४ क्लब लिगका लागि तयार भए पनि एन्फाले दोस्रो पटक तोकेको मितिमा प्रतियोगिता आयोजना गर्न सकेन । एन्फाले ‘बी’ डिभिजन लिगको नयाँ मिति पनि घोषणा गर्न पनि सकिरहेको छैन ।

जसलाई ‘बी’ डिभिजनका क्लबहरुले एन्फाको गैह्र जिम्मेवारीपनाको रुपमा लिएका छन् । राष्ट्रिय फुटबलको मेरुदण्ड मानिने लिग आयोजनाको विषयलाई यति हचुवा रुपमा लिएर एन्फाले फुटबलप्रति आफू कत्ति पनि जिम्मेवार नरहेको प्रमाण दिएको क्लबहरुले आरोप लगाइरहेका छन् ।

मंगलबारसम्म १४ मध्ये पाँच क्लबले तयारी खर्च आठ लाख ५० हजार लिएका छन् । बाँकीले भोलिबाट तयारी खर्च लैजाने र लिग नरोक्ने सहमति भएको स्रोतले बतायो । ‘लिग जसरी हुन्छ नरोकौं भन्ने सल्लाह भयो । तयारी खर्च लैजाने र अर्को बैठकबाट नयाँ मिति तय गर्ने कुरा भएको छ ।’