काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

उज्वेकिस्तान सेमिफाइनलमा

काठमाडौं । माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै साविक उपविजेता उज्वेकिस्तानले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितसँगै ६ अंक जोडेको उज्वेकिस्तानले समूह ‘बी’ बाट एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । यो नतिजासँगै यस समूहबाट काजकिस्तान पनि अन्तिम चारमा स्थान बनाएको छ ।

मंगलबार सम्पन्न खेलमा काजकिस्तानले श्रीलंकालाई ३-१ को सेटमा हराएको थियो । दुवै खेलमा पराजय ब्यहोरेका माल्दिभ्स र श्रीलंका भने बाहिरिएका छन् ।

पहिलो खेलमा नेपालले उज्वेकिस्तानले श्रीलंका तथा काजकिस्तानले माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा हराएका थिए ।

उज्वेकिस्तानले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)कभर्ड हलमा मंगलबार सम्पन्न चौथो तथा अन्तिम खेल २५-१८, २५-१४ र २५- ४ ले आफ्नो पक्षमा पारेको हो ।

अब समूह चरणको अन्तिम खेलमा बुधबार उज्वेकिस्तान र  काजकिस्तान भिड्दैछन् । यो खेलले समूह विजेताको टुङ्गो लाग्नेछ ।

यसैगरी माल्दिभ्स  र श्रीलंका पनि बुधबार नै आमने सामने हुनेछन् ।

यसैगरी मंगलबार नै आ-आफ्ना  खेलमा जित निकाल्दै नेपाल र भारतले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

नेपालले बंगलादेश तथा भारतले किर्गिस्तानलाई समान ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।