काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगिता

भारतलाई हराउँदै इतिहास रच्न चाहन्छौंः कप्तान अरुणा

फाइल फोटो

काठमाडाैं । नेपाली राष्ट्रिय महिला भलिबाल टोलीकी कप्तान अरुणा शाहीले भारतलाई हराउँदै इतिहास रच्ने चाहना रहेको बताएकी छन् ।  

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा मंगलबार बंगलादेशमाथि ३-० को सहज जित निकाले पछि अरुणाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यो नतिजासँगै समूह ‘ए’ बाट नेपाल र भारतले एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । दुवै टोलीको समान ६ अंक छ ।

‘आज सहज जित भए पनि तालमेल मिलेन । सेटिङ पूरा भएन। तर सेमिफाइनल पुग्दा खुसी र एक्साइटेट छु । प्रेसर पनि छ । भोली भारतलाई हराउँदै समूह विजेताका रुपमा अघि बढ्न चाहन्छौं,’ कप्तान अरुणाले भनिन् ,‘भारतविरुद्ध आजको जस्तो गल्ती दोहोर्याउनु हुँदैन । भारतलाई हराउन अर्को मौका छ । सागमा बेस्ट अफ फाइभमा हार्न पुग्यौं । इतिहास बनाउने मौका छ । यसैमा ध्यान केन्द्रित छ । शारीरिक रुपमा भारतभन्दा कमजोर छौँ । ब्लक भएन भने पनि डिफेन्समा राम्रो गर्नेछौं ।’

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा नेपालले खेल २५-१० २५-८ र २५-९ ले आफ्नो पक्षमा पारेको हो ।  

समूह चरणको अन्तिम खेलमा बुधबार नेपालले भारतको सामना गर्नेछ । यो खेलले समूह विजेतको टुङ्गो लगाउनेछ ।