सहिद स्मारक ‘ए’ डिभिजन लिग

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो आर्मी

फाइल फोटो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएको छ ।

यस बराबरीसँग आर्मी १३ खेलमा ५ जित, ५ बराबरी र ३ हारको नतिजासहित २० अंकका साथ चौथो स्थानमा छ । हिमालयन समान खेलबाट ३ जित, ५ बराबरी र ५ हारको नतिजासहित १४ अंकका साथ १२ औं स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार ७३ औं मिनेटमा चलिरहेको खेल वर्षाका कारण राेकिएपछि बाँकी समय आइतबार खेलाइएको हो ।

खेलको पहिलो मिनेटमै नवयुग श्रेष्ठको गोलमार्फत आर्मीले अग्रता लिएकाे थियाे । नवयुगले जिलेस्पीजंग कार्कीको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

५५औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै हिमालयनलाई बराबरीमा ल्याए ।