सहिद स्मारक ‘ए’ डिभिजन लिग

रोकिएन मनाङको हारको शृंखला, चर्च ब्वाइजसँग पनि पराजित

फाइल फोटो

काठमाडौं । सर्वाधिक ८ पटकको च्याम्पियन मनाङ मर्स्याङदी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारको शृंखाला लगातार छैटौं खेलसम्म पनि जारी राखेको छ ।

मनाङ आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नवप्रवेशी चर्च ब्वाइज युनाइटेडसँग ३-० ले पराजित भएको हो ।

यस जितसँगै चर्च ब्वाइजले १३ खेलमा ५ जित, ६ बराबरी र २ हारको नतिजासहित २१ अंक जोडेको छ । पराजय ब्यहोरेको मनाङको समान खेलबाट ४ जित, ३ बराबरी र ६ हारको नतिजासहित १५ अंक छ ।

चर्च ब्वाइजलाई जित दिलाउन कप्तान अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बुले समान १ गोल गरे । चर्च ब्वाइजले लगातार दोस्रो पराजयपछि जित निकालेको हो ।

खेलको ४१औं मिनेटमा अनन्तको गोलमार्फत चर्च ब्वाइजले अग्रता लिएको थियो । अनन्तले सुशिल शाहको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका हुन् ।

५४औं मिनेटमा मैसमले टोलीको अग्रता दोब्बर बनाए । मौसमले रन्जित पान्द्रेको पासलाई सदुपयोग गरेका थिए ।

इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को सहज जित दिलाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार हुने तय भएको खेल वर्षाका कारण सम्भव नभएपछि आइतबारका सारिएको हो ।