जर्मन बुन्डेसलिगा

अग्रता जोगाउन नसक्दा बायर्न पराजित

काठमाडौं । बायर्न म्युनिख जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार सम्पन्न खेलमा घरेलु टोली माइन्जसँग ३-१ ले पराजित भएको छ ।

यस जितसँगै २९ खेलमा ४५ अंक जोडेको माइन्ज छैटौं स्थानमा उक्लिँदा पराजयका बाबजुत बायर्न समान खेलबाट ५९ अंकका साथ शीर्ष स्थानमा कायम छ । 

मिवा एरिनामा अग्रता जोगाउन नक्सदा बायर्न स्तब्ध बनेको हो । खेलको २९औं मिनेटमा सादियो मानेको गोलमार्फत बायर्नले अग्रता लिएको थियो । मानेले जाओ कान्सेलको पासलाई सदुपयोग गरेका थिए ।

६५ औं मिनेटमा लुडोभिक अजोरक्वीले माइनलाई बराबरीमा ल्याए । ७३ औं मिनेटमा लियान्द्रो बरेइरोले गोल गर्दा माइन्ज २-१ ले अगाडी बढ्यो । लियान्द्रले करिम ओनिसिवको पासलाई पोस्टो दिशा दिएका थिए ।

७६ औं मिनेटमा आन्द्रेस ओल्सेनको पासमा आरोन करिकोलले गोल गर्दै घरेलु टोलीलाई ३-१ को जित दिलाए ।