इङ्लिस प्रिमियर लिग

ग्वार्डिओलालाई ‘ट्रेबल’ उपलब्धीमा रूचि छैन

लन्डन । सबैको अपेक्षा अनुसार म्यानचेस्टर सिटी इंग्लिस एफएकपको फाइनल पनि पुग्यो । उसले सेफिल्ड युनाइटेडलाई सेमिफाइनलमा सजिलै हरायो । इग्लिस प्रिमियर लिगमा पनि सिटीको स्थिति एकाएक बलियो भएको छ । सिटी दोस्रो स्थानमा छ र यो शीर्ष स्थानमा रहेको आर्सनललसँग पाँच अंकको दूरी हो ।

तर सिटीले आर्सनलको तुलनामा दुई खेल कम खेलेको छ । त्यसको अर्थ उसले आर्सनललाई उछिन्ने अवसर छ । बुधबार पूरा लिगकै निर्णायक हुन सक्ने खेलमा सिटीले आर्सनलको आथित्य गर्दैछ । अनि युरोपेली च्याम्पियन्स लिगमा सिटी सेमिफाइनल चरणमा छ, जहाँ उसको प्रतिद्वन्द्वी रहेको छ, रियल मड्रिड ।

यस्तोमा सिटीसामु पूरा तीन उपाधि जित्ने अवसर छ, अर्थात ‘ट्रेबल’ उपलब्धीको अवसर । सिटीले यी तीनै उपाधि जित्ने हो भने यो साँच्चै नै निकै ठूलो उपलब्धी हुनेछ, किनभने यो उत्तिकै दुर्लभ पनि छ । तर सिटीका व्यवस्थापक पेप ग्वार्डिओला भने यसमा धेरै रूचि राख्न चाहँदैनन् । अथवा भनौं, यस उपलब्धीका लागि हतार गर्न चाहँदैनन् ।

सेफिल्डलाई हराएयता उनले भनेका छन्, ‘सबैभन्दा पहिले एफएकप र लिग जितौं, त्यसपछि मात्र ट्रेबल उपाधिबाट चर्चा गरौं ।’ यस पछाडि उनको तर्क पनि ठीक छ । सिटीले यसअघि पनि एफएकप र लिग जितिसकेको छ । अझ ग्वार्डिओला आएयता नै सिटीले यी उपाधि हात पारिसकेको छ, खालि नजितेको भनेको त च्याम्पियन्स लिग न हो ।

ग्वार्डिओलाको यो भनाईले  धेरैथोक भन्छ र हामी उनको मनसाय पनि बुझ्न सक्छौं । खासमा सिटी च्याम्पियन्स लिग जित्न चाहन्छ । जति बेलासम्म सिटीले च्याम्पियन्स लिग जित्ने छैन्, क्लबका उपलब्धीमा प्रश्न गर्नेहरू हुने छन नै । त्यसैले पनि ग्वार्डिओला तीनै उपाधि जित्नेमा रूचि नभएको भनिरहेका छन।

हुन पनि च्याम्पियन्स लिगको उपाधि जित्न नसकेसम्म सिटीको मन भरिने छैन। फेरि सेमिफाइनलमा उसको प्रतिद्वन्द्वी पनि चर्को नै छ, रियलका रूपमा । सिटीका लागि पक्कै सेमिफाइनल सजिलो हुने छैन। हुन सक्छ, सिटीले लिग र एफएकप दुवै जित्ने छ, तर च्याम्पियन्स लिग जित्न सकेन भने यसलाई जित्नुको धेरै मज्जा पनि रहने छैन ।
–बीबीसीको सहयोगमा ।