नेपाली फुटबल

चोटकै कारण प्रीतिले गुमाइन् आई लिग

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले चोटका कारण भारतीय महिला फुटबलको शीर्ष डिभिजन आई लिग गुमाएकी छिन् ।

 ‘पेरिस ओलम्पिक २०२४’ एसियन महिला फुटबल छनोटका पहिलो चरणका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेको बेला अभ्यासका दौरान प्रीतिको घुँडामा चोट लागेको थियो । यसैको कारण प्रीतिले भारतीय लिगमा खेल्ने सुनौलो अवसर गुमाएकी हुन् ।

प्रीति यहि अप्रिल २५ तारिखबाट सुरु हुने आई लिगको छैँटौं संस्करण किक स्टार्स क्लबबाट खेल्ने तयारीमा थिइन् ।

किक स्टार्सले यसै सिजनका लागि नेपाली मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटीलाई अनुबन्धन गरिसकेको छ । प्रीतिले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिएपछि किक स्टार्सले उनको स्थानमा रेनुकालाई अनुबन्धन गरेको हो ।

‘सबै कागजी प्रक्रिया मिलिसकेको थियो । जाने तयारीमा थिएँ । तर चोटमा सुधार नआएपछि मैले नै नखेल्ने निर्णय गरेँ,’ प्रीतिले भनिन्,‘क्लबले हामी केही समय प्रतिक्षा गर्छौँ भनेको पनि हो । तर, मैले स्वास्थ्यलाई प्राथमिकता दिएँ ।’

सरु र रेनुकासँगै यसपाली अन्य चार नेपाली खेलाडीले पनि आई लिग खेल्ने छन् ।

युवा मिडफिल्डर दीपा शाहीले लर्डस एफएबाट खेल्नेछिन् । कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र रक्षक गीता रानालाई यसअघि नै सेथु एफसीले अनुबन्धन गरिसकेको छ  । 

त्यस्तै स्ट्राइकर सावित्रा भण्डारीले गोकुलमको प्रतिनिधित्व गर्नेछिन् । यीमध्ये गीताले सिजनको सुरुवाती चरणहरु गुमाउने छिन् । खुट्टामा चोट लागेका कारण गीता अझै केही महिना मैदान बाहिर रहनेछिन् ।