आइपिएल

हैदराबादलाई हराउँदै लखनउ शीर्ष स्थानमा

काठमाडौं ।  क्रुनाल पाण्ड्याको अलराउन्ड प्रदर्शनप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपिएल)- २०२३ मा सनराइजर्स हैदराबादलाई  पाँच विकेटले पराजित गरेको छ ।

यस जितसँगै तीन खेलमा चार अंक जोडेको लखनउ शीर्ष स्थानमा उक्लिँदा दुवै खेलमा पराजित हैदराबाद विना अंक पुछारमा छ ।

घरेलु मैदान एकना स्टेडियममा शुक्रबार राती सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य लखनउले १६ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टायो ।

लखनउका लागि, कप्तान केएल राहुलले ३५, क्रुनालले ३४, कायल मेयर्स १३ तथा अविजित रहेका निकोलस पुरनले ११ र मार्कुस स्टोइनिसले १० रन बनाए ।

हैदराबादका लागि आदिल राशिदले दुई तथा भुवनेश्वर कुमार,फजलहक फारुकी र उम्रन मलिकले समान एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेकको हैदराबादले  निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २१ रनको योगफल तयार पारेको थियो ।

हैदराबादका लागि राहुल त्रिपाठीले ३५, अनोमलप्रीत सिंहले, ३१, अब्दुल समादले अविजित २१ र वासिन्टन सुन्दर १६ रन बनाए ।

लखनउका लागि क्रुनालले तीन, अमित मिश्राले दुई तथा यश ठाकुर र रवि विश्नोईले समान एक विकेट लिए ।