विश्वकप २०२२

फ्रान्स एमबाप्पेमा मात्र निर्भर छैनः डेसच्याम्प

दोहा । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो टोली किलियन एमबाप्पेमा मात्र निर्भर नरहेको बताएका छन् ।

‘मलाई लाग्छ इङ्ल्यान्डले किलियन एमबाप्पेका लागि विशेष रणनिति बनाएको छ । एमबाप्पे उत्कृष्ट खेलाडी हुन्। उनले जस्तो सुकै परिस्थितिमा पनि खेलको मोड बदल्न सक्ने क्षमता राख्छन् ’डेसच्याम्पले भने‘हामीसँग अन्य उत्कृष्ट खेलाडी पनि छन् । त्यसैले टोली एमबाप्पेमा मात्र निर्भर छैन ।’

कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा साबिकको विजेता फ्रान्सले शनिबार इङ्ल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः ४५ मा अल बायत स्टेडियममा सुरु हुनेछ ।

एमबाप्पेको उत्कृष्ट प्रदर्शनको मद्दतमा फ्रान्सले क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको छ । उनले टोलीका लागि पाँच गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका छन् ।

एमबाप्पेलाई ओलिभर जिरौड,एन्टोइन ग्रिजम्यान,एड्रियन राबियो जस्ता खेलाडीको साथ रहने छ।