प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

साबिकको विजेता एपिएफलाई हराउँदै प्रदेश एक फाइनलमा

काडमाडौं । प्रदेश एक साबिकको विजेता नेपाल एपिएफ क्लबलाई पराजित गर्दै  प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रदेश एकले इटहरीस्थित जनता क्रिकेट पार्कमा  शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा आठ विकेटको सहज जित निकालेको हो ।

एपिएफले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य प्रदेश एकले नौ ओरभमा दुई विकेट गुमाउँदै भेट्टायो । प्रदेश एकका लागि कप्तान रुबिना क्षेत्रीले अविजित २० तथा काजल श्रेष्ठ र अप्सरी बेगमले समान नौ  रन जोडे ।

एपिएफका लागि नेरी थापाले एक विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ राजेको एपिएफले १३.४ ओभरमा  सबै विकेट गुमाउँदै ४५ झिनो योगफल तयार पारेको थियो ।। एपिएफका लागि  कप्तान सीता राना मगरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश एकका लागि संगिता  राई र अलिशा खडियाले समान तीन तथा सबनम राईले दुई विकेट लिए ।

प्रदेश एक समूह बी को विजेता तथा एपिएफ समूह ए को उपविजेतका रुपमा सेमिफाइनल प्रवेश गरेका थिए।

समूह चरणमा प्रदेश एकले शतप्रतिशत जित निकाल्दा एपिएफ सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो ।

प्रदेश एकले शनिबार हुने फाइनलमा सुदूरपश्चिम प्रदेशको सामना गर्नेछ । सुदूरपश्चिमले शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा मधेश प्रदेशमाथि एक सय १४ रनको सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।