सहिद स्मारक सी डिभिजन लिग

सी डिभिजन लिग जेठ १ बाट

काठमाडौं । सहिद स्मारक सी डिभिजन लिग आगामी जेठ १ गतेबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र लिगमा सहभागी क्लबको शुक्रबार बसेको बैठकले लिगको मिति तय गरेको हो ।  

लिग विजेताले १० लाख  प्राप्त गर्दा उपविजेताले ७ लाख र तेस्रो हुने टोलीले ४ लाख रुपैयाँ पाउने छन् । लिग सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ ।

लिगमा सहभागि १४ क्लबलाई तयारी खर्च स्वरूप ११ लाख रुपैयाँ उपलब्ध गराउने एन्फाले जनाएको छ ।

फेयर प्ले अवार्ड  जित्ने टोली र सर्वोत्कृष्ट खेलाडीले  समान ५० हजार पाउने छन् । सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले ३५ हजार पाउने छन् ।

हरेक खेलको विजेताले २० हजार पाउँदा खेल बराबरी भएको खण्डमा दुवै टोलीले ७ हजार ५ सय बाँड्नेछन् । ‘प्लेयर अफ द म्याच’ले ५ हजार पाउने छन् ।

एन्फाले यसअघि नै ए डिभिजन लिग फागुन १९ तथा बी डिभिजन लिग फागुन १५ बाट संञ्चालन गर्ने निर्णय गरिसकेको छ ।