आइसिसी महिला यु-१९ टी २० विश्वकप

इङ्ल्यान्डको लगातार तेस्रो जित

काठमाडौं । इङ्ल्यान्डलेआइसिसी महिला यु-१९ टी २० विश्वकपमा लगातार तेस्रो जित निकालेको छ ।

इङ्ल्यान्डले नर्थ वेस्ट युनिभरसिटीको क्रिकेट मैदानमा समूह ‘बी’अन्तर्गतको बिहिबार सम्पन्न खेलमा रुवान्डालाई एक सय ३९ रनले पराजित गरेको हो ।

यस जितसँगै इङ्ल्यान्ड  तीन खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पराजय ब्यहोरेको रुवान्डा समान खेलबाट दुई अंकका साथ तेस्रो स्थानमा छ ।

इङ्ल्यान्डले प्रस्तुत गरेको एक सय ८४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७ ओभरमा मात्र ४५ रनमा समेटियो । रुवान्डका लागि हेनरिएट इसिम्वेले १२ रन बनाउनु बाहेक अज्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इङ्ल्यान्डका लागि एलेक्सा स्टोनहाउस,हन्ना ब्रेकर, रायना म्याकडोनाल्ड र डाभिना पेरिनले समान दुई तथा इली एन्डरसनले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ८३ रनको योगफल तयार पारेको थियो । इङ्ल्यान्डका लागि  लिबर्टी हेपले ३५ बलमा १२ चौका मद्दतमा सर्वाधिक ६५ रन जोडिन् ।

यसैगरी कप्तान ग्रेस स्क्रिभेन्सले ४३ बलमा पाँच चौका र दुई छक्का मद्दतमा ५१, डाभिना पेरिनले २० र सेरिन स्मलीले १३ रन जोडे । पहिलो विकेटका लागि लिबर्टी र गे्रसले एकस सय २४ रनको साझेदारी गरेका थिए ।

रुवान्डाका लागि सिल्भिया उसाबिमानाले तीन तथा कप्तान गिसेल इसिम्वेले एक विकेट लिए ।

यसैगरी बिहिबार नै सम्पन्न समूह ‘सी’ अन्तर्गतको खेलमा इन्डोनेसियालाई ४९ रनले हराउँदै आयरल्यान्डले पहिलो जित निकालेको थियो ।