राेहित चन्द

रोहितको गोलमा पर्सिकको जित

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दको गोलप्रेरित पर्सिक केडेरीले इन्डोनेशियाको लिग वानमा दोस्रो जित निकालेको छ ।

पेर्सिकले बिहीबार सम्पन्न खेलमा भयङ्करा एफसीलाई रोमाञ्चक खेलमा ३–२ ले पराजित गरेको हो । लिगमा दोस्रो जित निकाल्दा पेर्सिकको लागि रोहित चन्द, रेनाल सिल्भा र रियान्तो अवियोसोले समान एक गोल गरेका थिए ।

पराजित भयङ्कराको लागि टिटान अगङ्ग र सानी रिज्की पाउजीले एक एक गोल गरे । खेलको आठौ मिनेटमा रोहितले गोल गर्दै पर्सिकलाई सुरुवाती अग्रता दिएका थिए । यसैसिजन पर्सिक केडेरीमा पुगेका रोहितले सिल्भाकै पास सदुपयोग गरे ।  

खेलको १४ मिनेटभित्र पर्सिक केडेरीले २–० को अग्रता बनाएपनि पहिलो हाफको  इन्जुरी समयमा खेल २–२ को अवस्थामा पुगेको थियो । रियान्तोले ८१औं मिनेटमा विजयी गोल गरेका थिए ।

जित निकालेपनि पर्सिक रेलिगेशन क्षेत्रमै छ । १८ खेलमा सात बराबरी गरेको पर्सिक १३ अंक सहित पुछारमा छ । समान खेलबाट १९ अंक जोडेको भयङ्करा १३औं स्थानमा छ । १८ खेलबाट ३७ अंक जोडेको पिएसएम माकासर शीर्षस्थानमा छ ।