काठमाडौं । नेपालले झन्डै आठ दशकदेखि भलिबल खेल्न थालेको इतिहास भए पनि अन्तर्राष्ट्रिय सहभगिता जनाउन थालेको करिब साढे चार दशकमात्र भएकोे छ ।
यसबीचमा नेपालको अन्तर्राष्ट्रिय उपलब्धि एक स्वर्ण, एक रजत र चार कांस्य पदकमा सीमित छ । महिला टोलीको तीन दशकको इतिहासमा सन् २०१९ र २०२१ मा एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपमा लगातार स्वर्ण पदक जितेको थियो । महिला टोलीले दक्षिण एसियाली खेलकुद (साग)मा तीन पटक कांस्य पदक जितेको इतिहास छ ।
अन्तर्राष्ट्रिय भलिबलमा पुरुष टोलीको अवस्था निकै नाजुक रहँदा पनि महिला टोलीले भने सन्तोषजनक नतिजालाई निरन्तरता दिइरहेको छ । कमजोर पूर्वाधार, सीमित सेवासुविधा र समग्रमा दयनीय परिस्थितीका बावजुद महिला टोलीका लागि सन्तोषजनक नतिजा हासिल गर्न सहज पक्कै थिएन । तर कोर्टमा नेपालको चुनौती प्रस्तुत गर्ने खेलाडी र प्रशिक्षकहरुको कठिन मिहिनेतका कारण सीमित उपलब्धि सम्भव भए ।
नेपालको महिला भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा सगौरव प्रस्तुत गराउन प्रशिक्षक कुमार राई र उनका उत्पादनहरुको योगदान उल्लेख्य रहँदै आएको छ । नेपाली भलिबलको भविष्य उज्ज्वल पार्न राईले दिएका थुप्रै स्टार नाममध्ये एक हो, सलिना श्रेष्ठ ।
भलिबललाई सामान्यतः अग्ला खेलाडीको खेल मानिन्छ । तर असाधारण प्रतिभा हुने होचा कदका खेलाडीले पनि यो खेलमा आफ्नो प्रभाव छोड्ने गरेका छन् । हो, त्यस्तै असाधारण क्षमताकी धनी खेलाडी हुन् उनी ।
काठमाडौंको नैकापमा मध्यम परिवारमा हुर्किएकी सलिनाको सानैदेखि भलिबलप्रति झुकाब बढ्दो थियो । दिदीहरुको खेलबाट प्रभावित सलिना यो खेलतिर आकर्षित भएकी थिइन् । यही खेलले उनलाई देशकै गहनाको रुपमा त स्थापित गर्यो नै । साथमा लजालु स्वभावकी सलिनालाई आत्मविश्वासी बनायो ।
‘कसैसँग बोल्न पनि लाज लाग्थ्यो । तर भलिबल खेल्न थालेपछि साथीहरु हुन थाले । संगत बढ्दै गयो । कुराकानी हुन थाल्यो । विस्तारै मेरो लजालु स्वभाव हट्दै गयो । भलिबलले मलाई खेलभन्दा बाहिर पनि धेरै दिएको छ,’ सलिना भन्छिन्, ‘तैपनि अझैसम्म मलाई मानिसहरु अन्तरमुखी भन्छन् । म पनि धेरै खुलेर बोल्न सक्दिनँ ।’
सामान्य कुराकानीमा खुलेर बोल्न नसके पनि कोर्टमा भने न्यु डायमन्ड क्लबकी लिबेरोको प्रदर्शनमा कुनै दायरा हुँदैन । कोर्टमा उनी खुलेर प्रस्तुत हुन्छिन् । घरेलु भलिबलमा न्यु डायमन्ड तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली राष्ट्रिय टोलीका सफलता कथामा उनको आत्मविश्वासी प्रदर्शनको भूमिका निकै महत्त्वपूर्ण रहने गरेको छ ।
खासमा सलिनाले भलिबल खेल्न थालेको नैकापकै ब्राइट फ्युचर स्कुलमा कक्षा ६ मा अध्ययनरत हुँदादेखि हो । नेपाली भलिबलका गुनी प्रशिक्षक कुमार राई ब्राइट फ्युचरमा अध्यापनका साथै भलिबल पनि सिकाउँथे । दिदीहरुलाई पछ्याउँदै भलिबलसँग लोभिएकी उनी भलिबलमा आउनुको मुख्य कारण चाहिँ राई नै हुन् ।
राई उनका सबैभन्दा मनपर्ने शिक्षक थिए । संयोग कस्तो रह्यो भने राईले ब्राइट फ्युचर छोडेर न्यु डायमन्ड एकेडेमी रोजे । राईसँगै सलिनाले पनि स्कुल फेरिन । न्यु डायमन्डमा त्यतिबेलासम्म छात्रालाई भबिलल खेलाइँदैनथ्यो । विस्तारै राईले छात्रालाई पनि भलिबल प्रशिक्षण गराउन थाले ।
‘त्यसपछि, त्यहाँ स्कुल सकिनेबित्तिकै दिदीहरुले भलिबलको ट्रेनिङ गर्नुहुन्थ्यो । मलगायत हामी सानाहरु चाहिँ दिदीहरुको प्रशिक्षण हेर्थ्यौं । दिदीहरुले मज्जासँग खेलेको देखेपछि मलाई पनि खेल्न मन लाग्यो,’ उनले सम्झिइन्, ‘त्यसपछि मैले भलिबल खेल्न थालेकी हुँ ।’
रहरै रहरमा खेल्न सुरु गरेको भलिबल स्वयं आफैंले पत्तो नपाइकन कतिबेला लत बस्यो उनलाई थाहा छैन । तर, दिदीहरुको सफल यात्राले भलिबल खेलेरै देशको नाम उँचो पार्ने महत्त्वाकांक्षा भने उनमा खेल्न थालेको केही समयमै जागिसकेको थियो ।
स्कुले जीवनदेखि नै प्रतिस्पर्धात्मक भलिबल खेल्न थालेकी सलिनाले न्यु डायमन्डका लागि सिनियर टोलीबाट थुप्रै घरेलु उपाधि जितिसकेकी छन् । उनले पहिलो पटक ढोरपाटन कप महिला भलिबल प्रतियोगितामार्फत खेल्दै न्यु डायमन्डको सिनियर टोलीमा आफूलाई स्थापित गरेकी थिइन् । उनले उक्त त्यही प्रतियोगितामा मञ्जु गुरुङलगायतका नाम चलेका राष्ट्रिय टोलीहरुसँग प्रतिस्पर्धा गर्ने मौका पाएकी थिइन् ।
उनले न्यु डायमन्डबाट एनभिए लिग, एपिएफले आयोजना गर्ने आइजिपी कप, ढोरपारटन कप तथा काठमाडौं उपत्यकाबाहिर आयोजना हुने थुप्रै प्रतियागिताको अनुभव लिइसकेकी छन् ।
चार फिट ९ इन्चकी उनलाई उचाइ कम भएकै कारण प्रशिक्षक राईले लिबेरोको पोजिसनमा खेलाउन थालेका थिए । प्रशिक्षक राई स्मरण गर्छन्, ‘मैले छोडेपछि सलिना र उनका दाइ पनि ब्राइट फ्युचर छोडेर मसँगै न्यु डायमन्डमा आएका थिए । म न्यु डायमन्डमा भलिबल सिकाउँथे । मैले नै उनलाई भलिबल खेल्नुपर्छ भनेको थिएँ । त्यसपछि सलिनाको भलिबलप्रति मोह जाग्यो ।’
सलिनाले सुरुआती दिनमा घाउचोट लाग्ने डरले घरपरिवारको साथ पाइनन् । तर, पछि उनी आफैंले परिवारलाई यो खेलबारे बुझाउन सफल भएकी थिइन् । राम्रो खेल्दै गएपछि अहिले उनले घरपरिवारको भरपूर साथ पाइरहेकी छन् ।
कम उचाइ भएकै कारण सलिनालाई राष्ट्रिय टोलीमा स्थान बनाउन निकै कठिन भयो । ‘तर पटक पटक असफल भए पनि हिम्मत नहारेकी उनले निरन्तरको मिहिनेतबाट आफूलाई राष्ट्रि य टोलीमा स्थापित गरिछाडिन्,’ राईलाई आफ्नी चेलीको सफलतामा गर्व छ ।
राष्ट्रिय टोलीबाट सलिनाले पहिलो पटक सन् २०१९ मा बंगलादेशको ढाकामा भएको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिता खेलेकी थिइन् । त्यहाँ नेपालले फाइनलमा माल्दिभ्सलाई हराउँदै इतिहासकै पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेको थियो । लगत्तै दुई वर्षपछि बंगलादेशमै त्यही प्रतियोगितामा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो । त्यसक्रममा नेपालले फाइनलमा बलियो उज्वेकिस्तानमाथि जित निकालेको थियो ।
सेन्ट्रल जोनमा दुवै पटक उपाधि जित्दा सलिना नेपाली राष्ट्रिय टोलीकी मुख्य खेलाडी थिइन् । नेपालमै २०१९ मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को भलिबलको पाँच सेटसम्म चलेको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल रजत पदकमा सीमित भएको थियो । नेपाली भलिबल इतिहासकै सर्वाधिक रोमाञ्चकमध्ये एक त्यो खेलमा लिबेरोको पोजिसनमा सलिनाको प्रदर्शन तारिफयोग्य थियो ।
‘पहिलो पटक राष्ट्रिय टोलीको जर्सी लगाउदा निकै गौरव महसुस गरेकी थिएँ । नेपालको टोलीबाट खेल्ने मेरो एकदमै ठूलो इच्छा थियो । म तीन पटकको प्रयासमा राष्ट्रिय टोलीमा अटाएकी थिएँ । त्यसैले पनि त्यो मेरा लागि विशेष थियो,’ उनी स्मरण गर्छिन् ।
यद्यपी सेन्ट्रल जोन खेल्न जानुभन्दा अघि नै उनले अनौपचारिक खेलमा नेपालको प्रतिनिधित्व गरिसकेकी थिइन् । उनले सेन्ट्रल जोनअघि नेपालमै भएको मैत्रीपूर्ण खेलमा मल्दिभ्ससँग खेलेकी थिइन् ।
थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गर्व गर्नलायक उपस्थिति जनाए पनि सलिना भने पोखराको लामाचौरमा भएको स्थानीय प्रतियोगितालाई आफ्नो करियरको उत्कृष्ट मान्छिन् । ठ्याक्कै मिति उनलाई याद छैन । तर उनलाई ‘२०७१-७२ सालतिर’ लागेको त्यो प्रतियोगितामा गरेको प्रदर्शन उनले अहिलेसम्म बिर्सन सकेकी छैनन् ।
‘मेरो खेल त्यो बेला धेरै राम्रो थियो । खेल हेर्न आउने दर्शकले मलाई मेसिन जस्तै खेल्ने भनेका थिए । मेरो मुभमेन्टहरु एकदमै राम्रो थियो । त्यो बेलाको खेलमा म निकै सन्तुष्ट थिएँ । कुमार सरले मेरो निकै तारिफ गर्नुभएको थियो,’ एउटा खेलाडीका लागि आफ्नो प्रशिक्षकको प्रशंसाभन्दा ठूलो के नै लाग्छ र ?
तर, राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परे पनि पटक पटक अन्तिम छनोटमा फ्याकिँदा चाहिँ उनी निकै दुःखित भएकी थिइन । ‘त्यो बेला म निकै होपलेस भएकी थिएँ । खेल पनि बिग्रन थालेको थियो । डिफेन्स राम्रो थिएन । खेल्नै नसक्ने अवस्थामा पुगेकी थिएँ। भलिबल नै छोड्ने सोचमा थिएँ । तर, टिममेट र कोचहरुले हौसला दिइरहनुभयो । तिमी गर्न सक्छौं, तिमीले खेल्नुपर्छ भन्नुभएको थियो । जसकारण म राष्ट्रिय टोलीमा पर्न सफल भएँ । तर पनि पहिलाको तुलनामा मेरो खेल अहिले निकै खस्किएको छ ।’
कतिपय खेलाडीहरु खेलमा लागेपछि आफ्नो पढाइलाई जोड दिँदैनन् । तर, २५ वर्षीया सलिनाले खेल सँगै पढाइलाई पनि अगाडि बढाउँदै आइरहेकी छन् । स्नातक गरिसकेकी उनी अब स्नातकोत्तर गर्ने सोचमा छिन् ।
उनको अन्तिम लक्ष्य नै एसियाली खेलकुद खेल्नु रहेको छ । भन्छिन्, ‘एसियन गेम्स खेल्न पाएपछि सम्भवतः खेलजीवनबाट टाढा हुन्छु । यो एउटा खेल खेल्न पाए म आफैंमा सन्तृष्ट हुने थिएँ ।’
‘पहिलाको तुलनामा अहिले आएका नयाँ खेलाडीहरुले राम्रो सेवासुविधा पाइरहेका छन्,’ सलिना नेपाली भलिबलको भविष्यलाई लिएर आशावादी छिन्, ‘सम्भवतः जुनियर खेलाडीहरुले आगामी दिनमा राम्रो खेल्दै जाने छन् । अझै भलिबलमा थुप्रै उपाधिहरु जित्नेछन् । नेपालमा पहिलाको तुलनामा भलिबलमा धेरै अवसर सिर्जना भइसकेको छ ।’