आइसिसी महिला यु–१९ टी २० विश्वकप

न्युजिल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । न्युजिल्यान्डले आइसिसी महिला यु-१९ टी २० विश्वकपमा लगातार दोस्रो जित निकालेको  छ ।

न्युजिल्यान्डले  सिनवेस पार्कमा समूह ‘सी’ अन्तर्गत मंगलबार सम्पन्न खेलमा आयरल्यान्डलाई नै विकेटले पराजित गरेको हो ।

यस जितसँगै न्युजिल्यान्डले दुई खेलमा चार अंक जोड्दा आयरल्यान्डले लगातरा दोस्रो पराजय ब्यहोरेको छ । पहिलो खेलमा न्युजिल्यान्डले इन्डोनेसियालाई १० विकेटले पराजित गर्दा आयरल्यान्ड वेस्ट इन्डिजसँग  सात रनले पराजित भएको थियो ।

आयरल्यान्डले  प्रस्तुत गरेको ७५ रनको लक्ष्य न्युजिल्यान्डले ६.५ ओभममा एक विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डका लागि एना ब्राउनिङले सर्वाधिक २९, एन्टोनिया हामिल्टनले अविजित १८ र जर्जिया प्लिमरले अविजित १७ रन जोडे ।

आयरल्यान्डका लागि एक मात्र विकेट जर्जिना डम्पसेले लिइन् ।

यसअघि टस  जितेर ब्याटिङ रोजेको आयरल्यान्डले १८.४ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनको योगफल तयार पारेको थियो । आयरल्यान्डका लागि जारा क्रेइगले २० र एबी ह्यारिसनले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका लागि नतासा कोडिरेले तीन, तास्ह वाकिलिनले दुई तथा काइली नाइट, ओलिभिया एन्डरसन र एबिगाइल होटोनले समान एक विकेट लिए ।