प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता

मधेसले कर्णालीलाई हरायो

काठमाडौं । मधेस प्रदेशले प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

मधेसले इटहरीको जनता क्रिकेट पार्कमा आइतबार सम्पन्न दोस्रो खेलमा कर्णाली प्रदेशलाई आठ विकेटले पराजित गरेको हो  ।

यस जितसँगै समूह‘बी’को मधेसले दुई खेलमा दुई अंक जोड्दा कर्णालीले लगातार दोस्रो हार ब्यहोरेको छ । पहिलो खेलमा मधेसले प्रदेश १ सँग नौ विकेट तथा कर्णाली लुम्बिनी प्रदेशसँग ९८ रनले पराजित भएका थिए ।

कर्णालीले प्रस्तुत गरेको ८० रनको लक्ष्य मधेसले १०.२ ओभरमा  दुई विकेट गुमाउँदै भेट्टायो । मधेशका लागि अनुराधा चौधरीले अविजित रहँदै ३५ बलमा चौका र छक्का मद्दतमा सर्वाधिक ३८ रन जोडिन् ।  यसैगरी प्रतिमा साह १८ रनमा अविजित रहिन् ।

तेस्रो विकेटका लागि अनुराधा र प्रतिमाले अविजित ७० रनको साझेदारी गरेका थिए ।

कर्णालीका लागि दुवै विकेट कप्तान विना थापाले लिइन् ।

यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७९ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि तृसना विश्वकर्माले सर्वाधिक १५ रन जोड्नि । यसैगरी किरण कुँवर र अञ्जु गुरुङले समान १३ रन बनाए ।

मधेसका लागि भुमि सिंहले चार तथा अमिरन निशाले दुई विकेट लिए ।

आइतबार नै सम्पन्न पहिलो खेलमा साबिकको विजेता नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको थियो ।