सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

न्यु डायमन्डलाई हराउँदै पुलिस च्याम्पियन

फाइल फोटो

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब सातौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ च्याम्पियन बनेको छ ।

पुलिसले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार सम्पन्न  निकै रोमाञ्चक फाइनल खेलमा साबिकको विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २२–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २५–२७ ले न्यु डायमन्डलाई सुम्पिएको पुलिसले चौथो सेट २५–१९ ले जितेको थियो ।

पाँचौँ तथा निर्णयक सेट १५–११ ले आफ्नो पक्षमा पार्दै पुलिस च्याम्पियन बनेको हो । उपाधिसँगै पुलिसले चार लाख रुपैयाँ प्राप्ता गर्दा उपविजेता न्यु डायमन्डले दुई लाख रुपैयाँ प्राप्त गरेको छ ।

सेमिफाइनलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई २५–१५,१७–२५,१५–२५२५–२१ र १५–७ तथा न्यु डायमन्डले  विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १७–२५,२५–१९,२५–१६ र  २५–१८ ले पराजित गरेका थिए ।

आइतबार नै सम्पन्न खेलमा आर्मीलाई २५–१६, २५–२०,२१–२५,२१–२५ र १५–७ ले हराउँदै एपिएफले महिलातर्फ तेस्रो स्थान हासिल गरेको थियो ।  तेस्रो स्थान हासिल गरेको एपिएफले
एक लाख रुपैयाँ प्राप्त गरेको छ ।

यसैगरी आइतबार नै सम्पन्न खेलमा नेपाल पुलिस क्ललाई १५–२५,२५–२०,२५–२३ र २५–१८ ले पराजित गर्दै एपिएफले पुरुषतर्फ पनि तेस्रो स्थान हासिल गरेको थियो  ।