नेपाल टी २० लिग

नैतिक संकटमा क्यान नेतृत्वः एकअर्काविरुद्ध खनिँदै क्यान र सेभेन थ्रीका पदाधिकारी, नयाँ नयाँ रहस्य खुल्दै

काठमाडौं । खेलाडीको पारिश्रमिक नदिएपछि अन्योलमा पुगेको विवादास्पद नेपाल टी २० लिगले नेपाली क्रिकेटभित्र मिलोमतो, बेटिङ र ठूल्ठुला भ्रष्टाचारका शृंखलाहरु पटाक्षेप हुन थालेको छ ।

आफ्नै बोर्डका सदस्यहरुले नोट अफ डिसेन्ट लेख्नुका बावजुद नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्वले अदालतमा विचाराधिन मुद्धा तथा देशको प्रचलित कानुनहरुलाई समेत बेवास्था गर्दै भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई नेपाल टी २० लिगको आयोजना अधिकार बेचेको थियो ।

तर पछिल्लो समय बजारमा छताछुल्ल भएका आरोप प्रत्यारोपका शृंखलाले नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान नेतृत्वको नियतमाथि गम्भीर प्रश्न खडा भएको छ । अदालतमा नेपाल टी २० को आयोजना अधिकार भारतीय कम्पनीलाई विना प्रतिस्पर्धा गोप्य रुपमा बेचेको विरुद्ध मुद्धा चलिरहेको बेला आफ्नै कार्यसमितिका सात सदस्यले पनि यसका विरुद्ध बैठकमै नोट अफ डिसेन्ट लेखेका थिए ।

दाउद अन्सारी, अमितवीर पाण्डे, छुम्बी लामालगायतका सदस्यहरुले सम्भावित बेटिङ र मिलोमतोको खतरा औल्याउनुका साथै आर्थिक लाभको सुनिश्चितताविना सेभेन थ्री स्पोर्टसलाई विना प्रतिस्पर्धा लिग बेच्न नहुने तर्कका साथ बोर्डमा निरन्तर आवाज उठाएका थिए । तर क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले सबैखाले कानुनसमेत मिच्दै सेभेन थ्रीलाई नेपाली क्रिकेट सुम्पिने निर्णय लिएका थिए ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयको स्वीकृति समेत नलिइकन विना प्रतिस्पर्धा विदेशी कम्पनीलाई आयोजना अधिकार बेच्दा एकमुख भएको क्यान नेतृत्व र आयोजना अधिकार पाएको सेभेन थ्रीका पदाधिकारीको भनाई अप्ठेरो अवस्था आइपरेपछि बाझिन थालेको छ ।

क्यान नेतृत्वले आफूलाई भन्दा बढि विश्वास गरेको सेभेन थ्री स्पोर्टसका प्रमूख जतिन आलुवालियाले बिहीबारै नेपालप्रेससँगको अन्तरवार्तामा आफूले तीन दिनअघि नै खेल मिलोमतोको जानकारी पाएर क्यानलाई प्रतियोगिता रोक्न अनुरोध गरेको तर क्यानले नमानेको बताएका छन् ।

क्यानले बिहीबार दिउसो प्रेस विज्ञप्ति जारी गर्दै ‘नेपाल टी २० मिलोमतोको मिथ्या सुचना’ फैलाइएको भन्दै मिलोमतोको कुनै जानकारी भए प्रमाणसहित क्यानको मुख्यालय वा नेपाल टी २० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन आह्वान गरेको छ ।

जवकि क्यान नेतृत्वले आफूलाई भन्दा बढि विश्वास गरेको सेभेन थ्री स्पोर्टसका प्रमूख जतिन आलुवालियाले बिहीबारै नेपालप्रेससँगको अन्तरवार्तामा आफूले तीन दिनअघि नै खेल मिलोमतोको जानकारी पाएर क्यानलाई प्रतियोगिता रोक्न अनुरोध गरेको तर क्यानले नमानेको बताएका छन् ।

आलुवालियाले यही कुरा उठाएका कारण आफूलाई धम्की आएको र सुरक्षा खतराकै कारण भारत जानुपरेको दाबी गरेका छन् । म्याच फिक्सिङ र स्पट फिक्सिङको विवाद पनि उत्पन्न भएको छ । यस विषयमा तपाईंलाई कति सुचना छ ? भनेर नेपालप्रेसले सोधेको प्रश्नमा आलुवालियाले भनेका छन्, ‘यो प्वाइन्ट मैले पनि उठाएको थिएँ । यही प्वाइन्ट उठाएको कारण नै मलाई थ्रेट आएको हुन सक्छ । सायद यही कारण ती मानिस मेरो विरुद्ध छन् । मलाई लाग्छ त्यहाँ माफियाको नेक्ससले खेललाई बिगारिरहेको छ । मैले तीन दिनअघि क्यानसँग माग गरेको थिएँ, लिगलाई १५ दिनका लागि स्थगित गरौं भनेर । मेरो टिमको आचरण एकदम सफा छ । हामीले सबै अनुशासनको पालना गर्यौं । सबै निर्देशन अनुसरण गर्यौं । तर कहीँ न कहीँ यति धेरै सफाई र अनुशासनको मुल्य चुकाउनु परिरहेको छ ।’

क्यानले राष्ट्रिय खेलकुद परिषदबाट अनुमति लिइसकेको भनेर क्यानले ढाँटेको आरोप लगाउँदै परिषदको स्वीकृति प्राप्त हुनुका साथै अदालतमा मुद्धा पनि टुंगो नलागेसम्म बाँकी पैसा नदिने प्रष्ट पारेका छन् ।

अर्को एक प्रश्नको उत्तरमा आलुवालियाले नेपालबाट फर्किनुपर्नाको अर्को कारण क्यानले लिग स्थगित गर्न नमान्नु पनि रहेको प्रष्टसँग भनेका छन् । उनले आफू क्यानलाई जानकारी नगराइकन भारत गएको स्वीकार्दै सम्झौताअनुसार दिनुपर्ने भनिएको रकम नदिने संकेत गरेका छन् ।

क्यानले राष्ट्रिय खेलकुद परिषदबाट अनुमति लिइसकेको भनेर क्यानले ढाँटेको आरोप लगाउँदै परिषदको स्वीकृति प्राप्त हुनुका साथै अदालतमा मुद्धा पनि टुंगो नलागेसम्म बाँकी पैसा नदिने प्रष्ट पारेका छन् ।

पैसा दिनुहुन्न ? भन्ने प्रश्नमा उनको उत्तर थियो, ‘तीन चिजमा भर पर्छ । सम्झौतामा भएको सबै सर्तहरु पूरा हुनुपर्यो पहिलो । दोस्रो हामीले अदालतको निर्णय प्रतिक्षा गर्नुपर्छ । तेस्रो खेलकुद परिषद्ले स्वीकृति दिएको पत्र चाहिन्छ ।’

जवकि एक करोड रुपैयाँमात्र पुजी रहेको कम्पनीसँग ३० करोड भन्दा बढिको सम्झौता गर्नु जोखिमयुक्त हुने भन्दै क्यान कार्यसमितिमा बारम्बार कुरा उठेको थियो । अर्को एक भारतीय कम्पनीले तीन वर्षअघि नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पनि राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीसँग प्रशारण अधिकारका लागि ४ करोड रुपैयाँको सम्झौता गरेको थियो । तर बीचमै भारतीय कम्पनी भागेपछि सम्झौता अलपत्र परेको थियो ।

क्यानका सदस्यहरुले त्यो नजिर समेत सम्झाउँदा पनि क्यान नेतृत्वले जबरजस्ती सेभेन थ्रीलाई गोप्य रुपमा नेपाल टी २० लिग बेचेको थियो ।

तीन वर्षअघि सागमा जस्तै यसपाली पनि सेभेन थ्रीका मालिक आलुवालिया सम्पर्कविहिन भएसँगै मंगलबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान जात्रा स्थलमा परिणत भएको थियो । पारिश्रमिक नपाएका कारण खेलाडीहरु मैदान उत्रिन मानेनन् भने श्रम स्वीकृति नभएका कारण विभिन्न बहानामा विदेशी खेलाडीहरु घर फर्किने क्रम सुरु भइसकेको थियो ।

चन्दका अनुसार कीर्तिपुरको मैदानमा दर्शक नआएपछि आलुवालियाले ‘धेरै डिस्टरबेन्सहरु भयो, मानिस पनि आएनन । केही दिन लिग रोकेर दुबई लगेर गरौं’ भनेर प्रस्ताब गरेका थिए ।

नेपाली क्रिकेटको इतिहासमै सर्वोच्च निकायले गराएको प्रतियोगिता एउटा रमितामा परिणत हुँदा पनि क्यान अध्यक्ष चन्द भने त्यसो मान्न तयार छैनन् । आफ्नै पार्टनर सेभेन थ्रीका प्रमूख आलुवालियाको भनाईको खण्डन गर्दै चन्दले भने, ‘उसको कुरामा कति सत्यता छ, त्यो आफै जान्नुपर्ला । यहाँबाट गइसकेपछि उसले क्यानलाई यसरी जे पायो त्यही भन्न पाउँदैन । उसले फिक्सिङको बारेमा हामीलाई कुनै जानकारी गराएको छैन ।’

चन्दका अनुसार कीर्तिपुरको मैदानमा दर्शक नआएपछि आलुवालियाले ‘धेरै डिस्टरबेन्सहरु भयो, मानिस पनि आएनन । केही दिन लिग रोकेर दुबई लगेर गरौं’ भनेर प्रस्ताब गरेका थिए । ‘मैले त्यस्तो कुरा नगर । हामीले यसपाली नेपालमा गर्नका लागि सरकारसँग स्वीकृति लिएका हौं । अर्को वर्ष सरकारले अनुमति दियो भने बाहिर गरौंला भनेको थिएँ,’ चन्दले भने ।

सेभेन थ्री स्पोर्टसका पदाधिकारीहरु समयमा नआए सम्झौता स्वत रद्ध हुने बताउँदै क्यान अध्यक्ष चन्दले आइसिसी र नेपाल सरकारको स्वीकृतिपछि क्यानको बोर्डले सर्वसम्मत निर्णय गरेर प्रतियोगिता गरेको दाबी गरे ।

‘क्यानको बैठकमा भोली पैसा आउँदैन, फिक्सिङ हुन्छ, बेटिङ हुन्छ जस्ता कुनै पनि कुरा भएका थिएनन् । पहिलो बैठकमा सर्वसम्मत निर्णय भएको हो । अर्को वैठकमा केही साथीहरुले हामी मान्दैनौं भन्नुभयो,’ प्रतियोगिता यतिबिघ्न विवादमा आएपछि तपाईंहरुलाई नैतिक संकट परेन ? भनेर सोध्दा चन्दले भने, ‘एकातिर सरकारको स्वीकृति आइसक्यो । राखेपको चिठी छ । अदालतले पनि स्टे दिएन । आइसिसीले अप्रुभल दिएको छ । हामीले के गलत काम गर्यौं र नैतिक सैकट पर्ने ? काम गर्दै जाँदा जटिलता हुन्छ । अप्ठेरो पर्छ । तर त्यसलाई हामी समाधान गरेर अगाडि बढ्छौं ।’

त्यसका बावजुद केही नभएझै गरि प्रतियोगिता विना कुनै कठिनाई निरन्तर अघि बढ्ने बताउँदै चन्दले सबै फ्रेन्चाइज मालिकहरुसँग आफू सम्पर्कमा रहेको र खेलाडीले पारिश्रमिक पाउनेमा ढुक्क रहन आग्रह गरे । उनले सेभेन थ्री स्पोर्टसका मालिकसँग पनि आफू निरन्तर सम्पर्कमा रहेको बताउँदै सम्झौताअनुसारको पैसा जसरी पनि उठाउने दाबी गरे ।

चन्दले मिलोमतो र बेटिङको प्रशंगलाई ठाडै अस्वीकार गरिरहँदा प्रतियोगिताकै आयोजक आलुवालिया तथा कमेन्टेटर सौरभ तिमल्सिनाको भनाईले केही न केही गलत भएको संकेत गर्छ । सौरभले मंगलबार मिलोमतोको संकेत गर्दै आफू कमेन्टेटर वा अरु कुनै पनि भूमिकामा यो प्रतियोगितासँग नरहने बताएका थिए ।

यसैगरी काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि पत्रकारहरुसँगको कुराकानीमा आफ्नो टोलीका एक खेलाडीलाई मिलोमतोको प्रस्ताब आएको र आफूहरुले एन्टी करप्सन युनिटलाई रिपोर्ट गरेको बताएका थिए ।

त्यसका बावजुद केही नभएझै गरि प्रतियोगिता विना कुनै कठिनाई निरन्तर अघि बढ्ने बताउँदै चन्दले सबै फ्रेन्चाइज मालिकहरुसँग आफू सम्पर्कमा रहेको र खेलाडीले पारिश्रमिक पाउनेमा ढुक्क रहन आग्रह गरे । उनले सेभेन थ्री स्पोर्टसका मालिकसँग पनि आफू निरन्तर सम्पर्कमा रहेको बताउँदै सम्झौताअनुसारको पैसा जसरी पनि उठाउने दाबी गरे ।

सुरुदेखि नै नेपाली कानुनको धज्जी उडाउँदै आएको लिगमा विना श्रम स्वीकृति विदेशी खेलाडी खेलाउने काम भइरहेको थियो । सम्बन्धित निकायले सोमबार क्यानलाई श्रम स्वीकृतिको बारेमा पत्र काटेपछि भने विभिन्न बहानामा विदेशी खेलाडीहरु फर्किने क्रम सुरु भएको थियो ।

सम्झौताअनुसार खेलाडीले प्रतियोगिता सुरु हुनुअघि ४० प्रतिशत रकम पाइसक्नुपर्ने थियो । बाँकी ६० प्रतिसत रकम प्रतियोगिता दौरान पाउनु पर्ने सम्झौतामा उल्लेख थियो । त्यही नपाएका कारण खेलाडीले मंगलबार मैदान उत्रिन अस्वीकार गरेका थिए । तर क्यान नेतृत्वले बुधबारसम्ममा खेलाडीले पाउनुपर्ने रकम दिइसक्ने आश्वासन दिएपछि खेल सुचारु भएका थिए ।

तथापि प्रत्येक निर्णयहरु अध्यारो कोठाबाट गर्दै आएको क्यान र सेभेन थ्री स्पोर्टसका जिम्मेवार पदाधिकारी बुधबारसम्म एक-अर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिएपछि सरोकारवालाहरु आस्वस्त हुन भने सकेका छैनन् ।

राष्ट्रिय खेलकुद ऐन २०७७ मा रहेको ‘कुनै पनि विदेशी कम्पनीलाई नेपाली प्रतियोगिताको अधिकार बेच्दा अनिवार्य रुपमा सरकारी पूर्व स्वीकृति लिनुपर्ने’ प्रावधान समेत सेभेन थ्रीलाई नेपाल टी २० को आयोजना अधिकार बेच्दा क्यानले पालना गरेको थिएन ।

यसअघि क्यानले गोप्य रुपमा सेभेन थ्री स्पोर्टसलाई सम्पूर्ण आयोजना अधिकार बेचेपछि विवादमा आएको नेपाल टी २० लिगको विषयमा सर्वोच्च अदालतमा मुद्धा परेको थियो ।

अदालतमा मुद्धा परेको अवस्थामा आफ्नो लगानी सुरक्षित नहुने चासोका कारण कान्तिपुर मिडिया ग्रुपको स्वामित्वमा रहेको काठमाडौं गोर्खाजले नेपाल टी २० लिग नखेल्ने निर्णय गरेको थियो ।

देशभित्रै खुल्ला प्रतिस्पर्धामार्फत आयोजक छान्नुपर्ने सामान्य आर्थिक नियमसमेत मिचेर गोप्य रुपमा भारतीय कम्पनीलाई क्यानले आयोजना अधिकार बेचेको विरुद्ध लामो समयदेखि नियमित अर्को फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग गर्दै आएका अमिर अख्तरले सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

राष्ट्रिय खेलकुद ऐन २०७७ मा रहेको ‘कुनै पनि विदेशी कम्पनीलाई नेपाली प्रतियोगिताको अधिकार बेच्दा अनिवार्य रुपमा सरकारी पूर्व स्वीकृति लिनुपर्ने’ प्रावधान समेत सेभेन थ्रीलाई नेपाल टी २० को आयोजना अधिकार बेच्दा क्यानले पालना गरेको थिएन ।

क्यानले युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदबाट पूर्व स्वीकृति लिएको दाबी गर्दै आए पनि अदालतले माग गरेअनुसार परिषदले पठाएको पत्रमा आफूले कुनै स्वीकृति नदिएको उल्लेख थियो ।

क्यान नेतृत्वले नेपालको कानुन तथा क्रिकेटका प्रचलित चलनहरुलाई समेत बेवास्था गर्दै सेभेन थ्रीलाई नेपालको क्रिकेट बुझाउने क्रममा सम्झौतादेखि प्रतियोगिता आयोजनासम्म सबै काम अपारदर्सी तवरमा गर्दै आएको थियो । कानुनविपरित सम्झौता गरेको प्रतियोगिताका लागि फ्रेन्चाइज चयन पनि पारदर्सी थिएन । यसैगरी खेलाडीको ड्राफ्ट र अक्सन पनि गोप्य रुपमै गरिएको थियो ।