पिएम कप

एपिएफसँग हार्यो आर्मी

काठमाडौं । अमरसिंह रौटेलाको ४ विकेटप्रेरित एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिताअन्तर्गत समूह ‘ए’को पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गरेको छ ।

प्रदीपसिंह ऐरी र सन्दीप जोराको अर्धशतकप्रेरित सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आर्मीलाई २ सय २० रनको लक्ष्य दिएको थियो ।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ३२.१ ओभरमा सबै विकेट गुमाएर १ सय ६३ रन मात्रै बनाउन सक्यो । आर्मीका लागि ओपनर हरि चौहानले ६७ बलमा ७ चौका र १ छक्कासहित ६५ रनको अर्धशतकीय इनिङ खेलेका थिए । वान् डाउनमा आएका रोहित पौडेलले ५९ बलमा ७ चौकासहित ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यद्यपि, अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा आर्मीले हार टार्न सकेन ।

एपिएफका लागि रौटेलालले ५.१ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । यस्तै, कमलसिंह ऐरीले १० ओभरमा ५६ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । किशोर महतोले ८ ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको एपिएफले ४७.४ ओभरमा सबै विकेट गुमाउनुअघि २ सय १९ रनको योगफल तयार गरेको थियो । पुलिसका लागि ओपनिङमा आएका प्रदीपले ८० बलमा ४ चौका र ६ छक्कासहित ७१ रनको अर्धशतकीय इनिङ खेले ।

अर्का ओपनर आशिफ शेख ९ रन बनाएर पेभेलियन फर्किँदा लोकेश बम शून्यमा पेभेलियन फर्केका थिए । भुवन कार्की २६ रन बनाएर आउट हुँदा पाँचौं नम्बरमा क्रिजमा उत्रिएका सन्दीप जोराले अर्धशतक बनाएका थिए ।

एपिएफका लागि ६२ बलको सामना गरेका सन्दीपले ६ चौका प्रहार गरे । कप्तान शरद भेसावकर १६ रन बनाएर पेभेलियन फर्किँदा अमरसिंह रौटेला १० रनमा अविजित रहे ।

आर्मीका लागि विक्रम सोबले सर्वाधिक ४ विकेट लिए । विक्रमले ७.४ ओभरमा २३ रन खर्चेका थिए । यस्तै, आर्मीका लागि साहब आलम र कुशल मल्ले २–२ तथा सुशन भारी र जितेन्द्र मुखियाले १–१ विकेट लिए ।