आइसिसी ट्वान्टी २० विश्वकप

दक्षिण अफ्रिकासँग ५ विकेटले हार्यो भारत

पर्थ । डेभिड मिलरको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले आइसिसी ट्वान्टी २० विश्वकपअन्तर्गत समूह ‘दुई’मा आइतबार भारतलाई ५ विकेटले पराजित गरेको छ । पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रनको योगफल तयार गरेको थियो ।

जवाफी ब्याटिङका उत्रिएको अफ्रिकाले १९.४ ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन बनायो । अफ्रिकाका लागि मिलरले ४६ बलमा ४ चौका र ३ छक्कासहित अविजित ५९ रनको महत्त्वपूर्ण इनिङ खेले ।

यस्तै, एडेन मारक्रमले ४१ बलमा ६ चौका र १ छक्कासहित ५२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भारतका लागि अर्शदीप सिंहले दुई तथा मोहम्मद सामी, हार्दिक पाण्डेया र रविचन्द्रन आस्विनले १–१ विकेट लिए ।

पहिलो इनिङमा भारतका लागि सूर्यकुमार यादवले ४० बलमा ६ चौका र ३ छक्कासहित ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् ।

बलिङतर्फ अफ्रिकाका लागि लुङ्गी एनगिडीले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै वाइन पर्नेलले ३ तथा अनरिच नोर्ट्जेले १ विकेट लिए ।