आइसिसी ट्वान्टी २० विश्वकप

पाकिस्तानसँग ६ विकेटले हार्यो नेदरल्यान्ड्स

पाकिस्तानसँग ६ विकेटले हार्यो नेदरल्यान्ड्स

पर्थ । मोहम्मद रिजवानको ४९ रनप्रेरित पाकिस्तानले आइसिसी ट्वान्टी २० विश्वकपको समूह ‘दुई’ अन्तर्गत आइतबार भएको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ ।

पर्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९१ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४ विकेट गुमाएर ९५ रन बनायो ।

पाकिस्तानका लागि ओपनर रिजवानले ३९ बलमा ५ चौकासहित ४९ रन बनाएर आउट हुँदा १ रनले अर्धशतक बनाउन चुकेका थिए । कप्तान बाबर आजम ४ रन बनाएर पेभेलियन फर्किँदा शान मसुद १२ रन जोडेर आउट भए । इफ्तिखार अहमद ६ र सादाब खान १ रनमा अविजित रहे ।

पहिलो इनिङमा नेदरल्यान्ड्सका लागि कोलिन एकरम्यानले २७ बलमा २ चौकासहित २७ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यस्तै कप्तान स्कट एडवार्ड्सले १५ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि सादाब आनले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै, मोहम्मद वासिमले २ तथा शहीन साह अफ्रिदी, नसिम साह र ह्यारिस रौफले १–१ विकेट लिए ।