नवौं राष्ट्रिय खेलकुद

आर्मी समूह विजेता

काठमाडौं । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह विजेताको रुपमा नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो । खेल १९ ओभरमा घटाइएको थियो ।

पुलिसका आरिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै, सुनिल धमलाले २७, दिलिप नाथले २३, दीपेन्द्रसिंह ऐरीले २१ र योगेन्द्रसिंह कार्कीले १४ रन बनाए ।

आर्मीका साहब आलमले दुई विकेट लिँदा जितेन्द्र मुखिया, सोमपाल कामी, सुसन भारीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको आर्मीले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रनको योगफल तयार गरेको थियो ।

आर्मीका कप्तान विनोद भन्डारीले सर्वाधिक ६६ रन बनाएका थिए । विनोदले २९ बलमा दुई चौका र सात छक्का प्रहार गरे ।

यस्तै, ओपनर अर्जुन साउदले पनि ५३ रनको अर्धसतकीय इनिङ खेले । यसबाहेक, टिमको खातामा भिम सार्कीले १५ रन थप्दा रोहित पौडेल र राजेश पुलामीले समान १४ रन जोडे ।

पुलिसका करण केसीले दुई विकेट लिए । यस्तै, गुल्सन झा र ललित राजवंशीले एक–एक विकेट लिए ।

आर्मीसँगको हारका बावजुद पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।