च्याम्पियन्स लिग

‘हामी भाग्यमानी रह्यौं, लेवान्डोवस्कीले गोल गर्न पाएनन्’

काठमाडौं । बायर्न म्युनिखका गोलकिपर म्यानुअल नुयरले बार्सिलोनाका फरवार्ड रोवर्ट लेवान्डोवस्कीबाट गोल बेहोर्नु नपर्दा आफूहरु ‘भाग्यमानी’ भएको बताएका छन् ।

युइएफए च्याम्पियन्स लिग समूह चरणको खेलमा मंगलबार बायर्न घरेलु मैदानमा बार्सिलोनालाई आतिथ्यता प्रदान गरेको थियो । बार्सिलोनाबाट च्याम्पियन्स लिगको ‘डेब्यु’ खेलमा भिक्टोरिया पल्जेनविरुद्ध ह्याट्रिक गरेका लेवान्डोवस्कीले आफ्नो पूर्व क्लब बायर्नविरुद्ध भने गोल गर्न सकेनन् ।

बायर्नसँग लेवान्डोवस्कीले गोलका दुई सुनौलो अवसर गुमाएका थिए । उनको पहिलो हेडरलाई पूर्व सहकर्मी नुयरले उत्कृष्ट बचाउ गर्दा बक्सभित्र पाएको अर्को सुनौलो अवसरमा लेवान्डोवस्कीको भलि क्रसबारको थोरै माथिबाट बाहिरिएको थियो ।

पाहुना टिमविरुद्ध २–० को जित निकाले पनि बायर्नका कप्तान नुयरले भने लेवान्डोवस्कीले ‘स्कोर’ गर्न नसक्नुमा आफूहरु भाग्यमानी भएको बताए ।

‘हामी भाग्यमानी सावित भयौं, लेवान्डोवस्कीको भली क्रसबाट बाहिरियो । बार्सिलोनासँग हामीले रक्षापंङ्तिको राम्रो नमुना पेश गर्यौं,’ नुयरले भने ।