पिएनजीमाथी नेपालको रोमाञ्चक जित

काठमाडौं, (खेलाडी)- आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन दुई अन्तर्गत त्रिदेशीय शृंखलाको तयारीमा मंगलबार सम्पन्न पपुवा न्युगिनी (पिएनजी)विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले दुई विकेटको रोमाञ्चक जित हासिल गरेको छ । 

ओमानको मस्कटस्थित अल अमेरत मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पिएनजीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।

१ सय ३५ रनको विजयी लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । 

नेपालका लागी सबैभन्दा धेरै रोहितकुमार पौडेलले ४१ रनको योगदान गरे । रोहितले ६५ बलमा दुई चौका प्रहार गरेका थिए । त्यस्तै ४६ बल खेलेका आसिफ सेखले पभेलियन फर्किनुअघि चार चौकासहित ३० रन बनाए । 

कुशल भुर्तेलले २८ बलमा दुई चौकासहित १५ रन बनाए । आरिफ सेशले ९ रन बनाउदा कप्तान ज्ञानेन्द्र मल्ल र सरद भेषावकरले ६ रन मात्रै जोड्न सके । कुशल मल्ल मात्रै १ रनमा पभेलियन फर्किए । 

नेपालका सोमपाल कामी र विक्रम सोब अविजित रहे । सोमपालले ३२ बलमा एक चौका र एक छक्कासहित २२ रन बनाउदा दुई बल खेलेका विक्रमले रनको खाता खोल्न सकेनन् । 

एक समय हारतर्फ अग्रसर नेपाललाई रोहित र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै जित दिलाएका हुन् । ८२ रन जोड्दा ७ विकेट गुमाइसकेको अवस्थामा पौडेल र कामीले नेपालको इनिङ सम्हालेका थिए । 

पिएनजीको बलिङमा गौडी टोकाले तीन विकेट लिए । त्यस्तै डामियन रभु र चाड सोपेरले समान दुई/दुई विकेट लिदाँ नोसिइन पोकनाले एक विकेट लिए । 

यसअघि पहिले ब्याटिङ गरेको पिएनजीका लागी लेगा सिएकाले सबभन्दा धेरै ३० रन बनाए । चार्लस एमिनीले २३, गौडी टोकाले २२ रन बनाए । पिएनजीका किप्लिन डोरिगाले १५ र सेसे बाउले १४ रन जोडे ।  

नेपालको बलिङमा स्पिनर सन्दिप लामिछानेल चार विकेट लिए । १० ओभर बलिङ गरेका सन्दिपले ३५ रन दिएका थिए ।

त्यस्तै नेपालबाट ‘डेब्यु’ गरेका विक्रम सोब र कुशल मल्लले समान दुई विकेट लिए । विक्रमले आफ्नो पहिलो बलमै विकेट लिएका थिए । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटकाे 'डेब्यु' बलमै विकेट लिने विक्रम नेपालका पहिलो तथा विश्वका २८औं बलर हुन् ।

पाँच ओभर बलिङ गरेका विक्रमले २० रन दिए । त्यस्तै सात ओभर बलिङ गरेका सोमपाल कामीले ३७ रन दिएर एक विकेट लिए ।