नेपालमा पहिलो पटक फ्रेन्चाइज भलिबल हुने
काठमाडौं, (खेलाडी)- क्रिकेट र फुटबललाई पछ्याउँदै नेपाली भलिबलमा पनि फ्रेन्चाइज लिग हुने भएको छ ।
नेपाल भलिबल संघ (एनभिए) र चाैधरी ग्रुपअन्तर्गतको नेपाल स्पोर्टस् तथा इभेन्टस् म्यानेजमेन्ट कम्पनिबीच नेपालमै पहिलो पटक फ्रेन्चाइज भलिबल लिग गर्ने विषयमा सम्झौता भएको छ । पुरुष र महिला दुवैतर्फ हुने फ्रेन्चाइज लिगका लागि एनभिए र म्यानेजमेन्ट कम्पनिबीच १० वर्षे सम्झौतापत्रमा हस्ताक्षर भयो ।
सम्झौता पत्रमा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के तथा नेपाल स्पोर्टस् म्याजेनमेन्ट कम्पनिका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे ।
नेपाल स्पोर्टस् इभेन्टस् म्यानेजमेन्ट कम्पनीले यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा)सँगको सहकार्यमा नेपालमा पहिलो पटक फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) गरेको थियो ।
फुटबलमा पहिलो पटक कठिन परिस्थितिमा आयोजना गरे पनि एनएसएल भव्य रुपमा सफल भएपछि कम्पनिले देशकै सबभन्दा लोकप्रिय खेल भलिबलमा हात हालेको हो ।
विभिन्न सहरका सात फ्रेन्चाइज टोलीको सहभागितामा प्रतियोगिता कोभीड १९ महामारीका कारण लागु गरिएको निशेधाज्ञाको समयमा भएको थियो । दशरथ रंगशालामा दर्शकको उपस्थितिविना गरिएको लिगमा काठमाडौं रेजर्सले उपाधि जितेको थियो ।
फुटबलमा पहिलो पटक कठिन परिस्थितिमा आयोजना गरे पनि एनएसएल भव्य रुपमा सफल भएपछि कम्पनिले देशकै सबभन्दा लोकप्रिय खेल भलिबलमा हात हालेको हो ।
मंगलबार भएको सम्झौताअनुसार एनभिएले प्रतियोगिताको प्राविधिक पक्ष सम्हाल्नेछ । प्रतियोगिताको सम्पूर्ण आर्थिक पक्ष भने कम्पनीको जिम्मेवारी हुनेछ । यसका साथै कम्पनिले संघको आयोजनामा प्रत्येक वर्ष हुने महिला तथा पुरुष लिगका लागि पनि सहयाेग उपलब्ध गराउने सहमति भएको बताइएको छ । प्रतियोगितामा भएको कुल नाफाको ३० प्रतिसत रकम पनि कम्पनिले संघलाई सहयोगस्वरुप उपलब्ध गराउने जानकारी गराइएको छ ।
अर्को वर्षदेखि भने प्रतियोगिता होम एण्ड अवे पद्दतिअनुसार देशका विभिन्न सहरमा आयोजना गर्ने लक्ष्य राखिएको छ ।
प्रतियोगिताको पहिलो संस्करण आगामी मंसिर एक देखि पुस दुई गतेसम्म हुने योजना छ । अर्को वर्षदेखि भने प्रतियोगिता होम एण्ड अवे पद्दतिअनुसार देशका विभिन्न सहरमा आयोजना गर्ने लक्ष्य राखिएको छ ।
स्पोर्टस् म्यानेजमेन्टका अध्यक्ष आश्रेता कार्की चौधरीले लिग आयोजनाबाट नेपाली भलिबलको समग्र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिन । उनले प्रतियोगिताको भव्यतामा कुनै सम्झौता नगर्ने पनि बताइन ।
'यस सम्झैतासँगै नेपालको राष्ट्रिय महिला तथा पुरुष भलिबलकको स्तर बढ्ने विश्वास लिएको छु । फुटबल सुपर लिग सफल आयोजना गर्यौ । जसले गर्दा अन्य खेल आयोजना गर्न सहयोग मिल्यो । यस सम्झौताको गर्नको लागि सहयोग गर्ने एनभिए प्रती आभार व्यक्त गर्दछौं,' उनले भनिन् ।
यस्तै भलिबल संघकी उपाध्यक्ष मास्केले म्यानेजमेन्ट कम्पनीसँग जोडिन पाउँदा खुसी लागेको बताइन ।
'भलिबल बिकासको लागि म्यानेजमेन्ट टिमसँग जोडिन पाउँदा खुसी छौं । सम्झौतासँगै यो खेल व्यावसायिक रुपमा अगाडी बढ्नेछ । त्यसको फलस्वरुप हामीले अन्तर्रास्ट्रिय क्ष्रेत्रमा फड्को मार्ने विश्वास लिएको छु,' उपाध्यक्ष मास्केले भनिन् ।