नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदः पुलिसको सहज जित

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा शनिबार नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि नौ विकेटको सहज जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको ८६ रनको लक्ष्य पुलिसले १०.४ ओभरमा एक विकट गुमाएर पूरा गर्यो ।

पुलिसको जितमा सुनिल धमलाले सर्वाधिक ४४ रन बनाए । धमलाले २४ बलमा चार चौका र तीन छक्का प्रहार गरे । यसबाहेक, टिमको खातामा कुशल भुर्तेलले ३९ रन थपे ।

कर्णालीका प्रकाश जैसीले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले १९.३ ओभरमा सबै विकेट गुमाएर ८५ रनको योगफल खडा गरेको थियो ।

कर्णालीका कप्तान रविन्द्र शाहीले सर्वाधिक २७ रन बनाएका थिए । यसबाहेक, विपिन रावलले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कर्णालीलाई सस्तैमा समेट्न पुलिसका दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान तीन विकेट लिए । यस्तै, सागर ढकाल र मन्जित श्रेष्ठले दुई–दुई विकेट लिए ।