अब्दुल्लाह अल्मुताइरी

अब्दुल्लाह अल्मुताइरी: १७ अन्तर्राष्ट्रिय खेल, १६ खेलाडीको ‘डेब्यु’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टिमको प्रशिक्षण छोडेको घोषणा गरिसकेका छन् ।

आइतबार नेपाली टिमसँगको सहयात्रा टुङ्ग्याउने घोषणा गरेका अल्मुताइरी हाल आफ्नै देश (कुवेत) मै छन् ।

कुवेतमै भएको एएफसी एसियन कप तेस्रो चरणको छनोट सकिएपछि अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग तीन महिना विदा लिएका थिए । त्यसयता, विदामा रहेका अल्मुताइरीले सामाजिक सञ्जालमा नेपाली टिमसँगको सम्बन्ध पाँच सय २५ दिनपछि टुङ्ग्याउन लागेको लेखेका छन् ।

अल्मुताइरी सन् २०२१ मे २९ मा नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनलाई तत्कालिन एन्फा कार्यसमिति (कर्माछिरिङ शेर्पा नेतृत्वको) ले कतारको सहयोगमा नेपाली टिमको प्रशिक्षकको रुपमा अनुबन्ध गरेको थियो ।

त्यसयता, अल्मुताइरीको नेतृत्वमा नेपालले १७ अन्तर्राष्ट्रिय खेल खेल्यो । यसमध्ये नेपालले पाँच खेलमा जित निकाल्दा, दुईमा बराबरी र १० खेलमा हारको नतिजा आत्मसाथ गरेको थियो ।

यस अवधिमा नेपालले १४ गोल गर्दा ३६ गोल बेहोर्यो । नेपाली टिमको जिम्मेवारी सम्हालेको सुरुआतदेखि नै विभिन्न ‘फन्डा’ हरुका सँधै चर्चामा रहेका अल्मुताइरीले मैदानमा भने १६ नयाँ खेलाडीलाई नेपाली राष्ट्रिय फुटबल टिमबाट ‘डेब्यु’ गराए ।

उनको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलो खेल खेलेको थियो । एएफसी एसियन कप तेस्रो चरणको छनोटअन्तर्गत इन्डोनेसियाविरुद्धको खेल अन्तिम बनेको अल्मुताइरीको प्रशिक्षणमा ‘डेब्यु’ गर्ने पहिलो खेलाडी बने मनिष डांगी ।

मनिषले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालबाट ‘डेब्यु’ गरे । सोही खेलबाट गौतम श्रेष्ठले पनि राष्ट्रिय टिममबाट ‘डेब्यु’ गरे ।

रोचक संयोग त के भने इराकसँगको पहिलो खेलमा दुई खेलाडीलाई ‘डेब्यु’ गराएका अल्मुताइरीले अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध पनि दुई खेलाडीलाई नै राष्ट्रिय टिमबाट ‘डेब्यु’ गराएका थिए ।

अल्मुताइरीको प्रशिक्षणमा राष्ट्रिय टिमबाट ‘डेब्यु’ गरेका खेलाडीः

१. मनिष डांगी

२. गौतम श्रेष्ठ

३. आयुश घलान

४. कमल थापा

५. सुरजजिउ ठकुरी

६. नितिन थापा

७. राजन गुरुङ

८. विशाल श्रेष्ठ

९. सुदीप गुरुङ

१०. आकाश बुढामगर

११. नविन गुरुङ

१२. प्रशान्त अवस्थी

१३. दीप कार्की

१४. विकाश तामाङ

१५. निरकुमार राई

१६. शिव गुरुङ