नेपालको केन्या भ्रमण

केन्यासँगको एकदिवसीय शृंखलामा नेपालको ‘क्लिन स्विप’

नौरबी । केन्याविरुद्धको एकदिवसीय शृंखलामा नेपालले क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो खेलमा ६ विकेटको सहज जित निकाल्दै नेपालले शृंखला क्लिन स्विप गर्यो ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा घरेलु टिमले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा तीन ब्याटरले अर्धशतक बनाए । ओपनर आसिफ शेखले ४३ बलमा नौ चौका र दुई छक्का प्रहार गर्दै ५६ रन बनाए । अर्का ओपनर अर्जुन साउदले पभेलियन फर्किनुअघि ५८ रन जोडे । यस्तै, बसिर अहमेदले अविजित ५२ रन बनाउदा कप्तान रोहितकुमार पौडेल पनि ४६ रनमा अविजित रहे ।

यसबाहेक, टिमको खातामा ज्ञानेन्द्र मल्लले ३३ रन बनाए ।

केन्याका भिराज पटेलले दुई विकेट लिँदा सेम एन्गोचे र एस टलाटीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रनको योगफल खडा गरेको थियो ।

केन्याका कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाएका थिए । यस्तै, लुकास एनडान्डासनले ५९ रन बनाउदा सुकदिफ सिंहले ३७ र इम्यानुयल बुन्डीले २३ रन थपेका थिए ।

नेपालका सोमपाल कामी र आदील अन्सारीले समान दुई विकेट लिए । यस्तै, साहब आलम र बसिर अहमेदले एक–एक विकेट हात पारे ।

नेपालले यसअघि पहिलो एकदिवसीय खेलमा केन्यालाई सात विकेटले र दोस्रो एकदिवसीय खेलमा १७ रनले पराजित गरेको थियो ।

ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि केन्या पुगेको नेपाली टिमले दुवै शृंखला जितेको छ । नेपालले ट्वान्टी २० शृंखलामा घरेलु टिमलाई ३–२ ले पराजित गरेको थियो ।