साफ यु-१७ च्याम्पियनसिप

भारतको सुखद सुरुआत

काठमाडौं । साविकको विजेता भारतले साफ यु-१७ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । 

सोमबारबाट कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानमाथि ३-० को जित निकालेको हो ।

पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफको सुरुआतमै तेस्रो गोल थपेको थियो । 

भारतका लागि थंगालसोनु गांगटेले दुई र कप्तान भनलापिका ग्वेटेले एक गोल गरे ।

खेलको १० औं मिनेटमा गांगटेले गोल खाता खोलेका थिए । त्यसको पाँच मिनेटपछि गांगटेले नै भारतको अग्रता दोब्बर पारेका थिए । 

४८औं मिनेटमा कप्तान ग्वेटले गरेको गोलमा भारतले आफ्नो अग्रता ३-० मा पुर्याएको थियो ।

यससँगै भारतले समूह बी बाट सेमिफाइनल प्रवेशको सम्भावना बलियो पारेको छ । समूह बी मा भुटानले बुधबार नेपालविरुद्ध खेल्नेछ । त्यस्तै भारतले दोस्रो खेलमा नेपालको सामना गर्नेछ ।  

 आयोजक श्रीलंका र बंगलादेशबीचको खेल नेपाली समय अनुसार ८ः१५ मा सुरु हुनेछ ।