साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः सात देशका प्रशिक्षक र कप्तानको आ-आफ्नै दाबी

काठमाडौं । कोभिड १९ को महामारीको कारण एक वर्ष ढिलो आयोजना भएको साफ महिला च्याम्पियनसिप मंगलबारदेखि सुरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपालसहित साविक विजेता भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात टिमले प्रतिस्पर्धा गर्दैछन् ।

यो पटक प्रतियोगितामा आठ वर्षपछि पाकिस्तान महिला फुटबल टिमले प्रतिस्पर्धा गर्दैछ । जुन मुख्य आकर्षणको विषय बनेको छ । यता, भारत फुटबल महासंघ फिफाको निलम्बनबाट फुकुवा भएर प्रतियोगितामा उपाधि रक्षा गर्न आइपुगेको छ ।

फिफाको अनिश्चितकाल समयको लागि निलम्बनमा परेको भारतले साफमा सहभागिता नजनाउने चर्चाको विषय बनेको थियो । भने यता, आयोजक नेपाललाई भारतको अनुपस्थितिमा साफको उपाधि जित्दै कीर्तिमान रच्ने मौका पनि बनेको थियो । तर, निलम्बन फुकुवासँगै नेपालले पुनः एकपटक उपाधिको लागि भारतको सामना गर्नु पर्नेछ ।

दक्षिण एसियाली महिला फुटबलमा अपराजित भारतसँगै अहिले भुटान, पाकिस्तान, बंगलादेशजस्ता देशहरुले महिला फुटबलमा राम्रै लगानी गरेका छन् । फलस्वरुप उनीहरुले विगतका नतिजामा सुधार गर्दै यो पटक साफको छैटौं संस्करणको च्याम्पियन बन्ने दाबी गर्दै आएका छन् ।

मंगलबारदेखि सुरु हुने प्रतियोगिता अगाडि भएको प्रि–म्याच कन्फ्रेन्समा सात टिमका मुख्य प्रशिक्षक र कप्तानले गरेका दाबीहरु प्रस्तुत छ ।

गोलक रोबानी छोटोन, मुख्य प्रशिक्षक (बंगलादेश)
‘हामी प्रतियोगिताका लागि तयार छौं । विराटनगरमा भएको पाँचौं साफपछिको लामो समयपछि प्रतियोगिता खेल्ने मौका पाएका छौ । खुशी छौं । टिममा युवा र सिनियर खेलाडीको समायोजन राम्रो छ ।’

सविना खातुन, कप्तान
‘तयारी राम्रो भएको छ । भारतले पाँचौ पटक साफको उपाधि जितेको छ । पहिलाकोभन्दा अहिले बंगलादेश फुटबलको अवस्था परिवर्तन भइसकेको छ । उपाधि जित्ने प्रयास गर्छाै ।’

क्युङ सुक हङ, मुख्य प्रशिक्षक (भुटान)
‘हामीले फरक–फरक तरिकाबाट तयारी गरेका छौं । तयारी राम्रो भएको छ ।’

पेमा छिरिङ, कप्तान
‘प्रतियोगिताको लागि तयारी राम्रो गरेका छौ । युवा टिम छ । तर, सबै खेलाडी अनुभवी छन् । प्रतियोगिता तयारीका लागि घरेलु लिगहरु खेलेर आएका छौ ।’

ऐमद सरिफ, मुख्य प्रशिक्षक (माल्दिभ्स)
‘कोभिड १९ को कारण फुटबल त्यति चलायमान भएन । प्रतियोगिता खेल्न आउनुअघि म्याच एक्सपोजर पाएनौ । माल्दिभ्समा घरेलु लिगहरु भएका छैन । लामो समयपछि  साफ च्याम्पियनसिप खेल्न पाउँदा खुशी छौं ।’

लिजा, कप्तान
‘टिममा कोही अनुभवी खेलाडी छन् । त कोही छैनन् । सबिना (खातुन) र म साथी हौं । उ राम्रो खेलाडी हो । राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौ ।’

आदिल रिज्की, मुख्य प्रशिक्षक (पाकिस्तान)
‘तयारी राम्रो भएको छ । हामी राम्रो प्रदर्शन गर्ने चुनौती छ । प्रतियोगितामा राम्रो नतिजा निकाल्ने प्रयास गर्छाै ।’

मारिया खान, कप्तान
‘आठ वर्षपछि प्रतियोगिता खेल्दैछौ, खुशी लागेको छ । प्रतियोगिता खेल्न उत्साहित छौं । टिममा युएई र इङ्ल्यान्डका खेलाडीहरु छन् । समूह चरणको सबै खेलमा राम्रो नतिजा निकाल्ने प्रयास गर्छाै ।’

चामिन्डा निल स्टेनवाल, मुख्य प्रशिक्षक (श्रीलंका) 
‘हामीले राम्रो तयारी र लामो अभ्यास गरेर आएका छौं । श्रीलंकामा आर्थिक संकट भए पनि अभ्यासमा कुनै असर परेको थिएन ।’

पूर्णिमा, कप्तान
‘तयारी राम्रो भएको छ । खुशी छौं । राम्रो नतिजा ल्याउने प्रयास गर्नेछौं ।’

सुरेन क्षेत्री, मुख्य प्रशिक्षक (भारत)
‘प्रतियोगिताको लागि तयारी राम्रो भएको छ । तयारीका लागि धेरै समय पाएनौ । हामी प्रतियोगिता खेल्न आउन पाउँदा खुशी छौं । टिमका राम्रा खेलाडी छैनन्, उनीहरुको अभाव खड्किन्छ । हामीलाई उपाधि रक्ष ागर्ने चुनौती छ । उपाधि जित्न सजिलो हुन्छ तर, त्यसलाई रक्षा गर्न धेरै गाह्रो हुन्छ । हाम्रो धेरै योजनाहरु छन् । त्यो भविष्यमा पूरा गर्छाै ।’

आशालता देवी, कप्तान
‘हाम्रो पूरा ध्यान प्रतियोगितामा छ । दक्षिण एसियामा यो प्रतियोगिता ठूलो मानिन्छ । पूरा तयारी गरेर उपाधि रक्षा गर्न आएका छौ । सबै कुरा भूलेर हामी अगाडि बढ्न चाहन्छौ । सबै ध्यान खेलमा नै छ ।’

कुमार थापा, मुख्य प्रशिक्षक (नेपाल)
‘प्रतियोगिता तयारीका लागि सात हप्ता पाएका थियौ । त्यसबाट सन्तुष्ट छु । तयारी राम्रो भएको छ । टिम पनि राम्रो भएको छ । फुटबलमा धेरै कुरा हुन्छ । जित्छु भनेर मात्र हुँदैन । जे पनि हुन सक्छ । पहिलाको गल्ती सुधार्दै उपाधि जित्ने योजना छ । महिला फुटबललाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन चाहन्छौ ।’

एन्जिला (तोम्बापो सुब्बा) अनुभवी खेलाडी हुन् । हाम्रो टिमका २३ खेलाडी नै कप्तान हुन् । नयाँ र पुनरागमन भएका समान तीन खेलाडी छन् । सबैजना राम्रो भएका छन् । हामी गल्ती कम गर्ने प्रयास गर्छाै । तयारीको हिसाबले हामी प्रतियोगिताको लागि तयार छौं । भेन्यु फरक भए पनि त्यसले कुनै फरक पार्दैन । भुटानविरुद्ध उत्कृष्ट गर्ने प्रयास गर्छाै । हामी शारिरीक, मानसिक र प्राविधिक रुपमा जितका लागि तयार छौं ।

एन्जिला तोम्बापो सुब्बा, कप्तान
‘कप्तानको जिम्मेवारी पाउँदा खुशी लागेको छ । हामी च्याम्पियनसिपमा सतप्रतिशत दिनेछौं । गोर्खाली हौं, झुक्ने छैनौ । कप्तान हुँदा देशलाई गोल्डमेडल जिताउने सबैको इच्छा हुन्छ । मेरो पनि छ । उपाधि जित्छौ भन्ने एक–अर्कामा विश्वास छ । धेरै बोल्नुभन्दा पनि मैदानमा गरेर देखाउने छौं ।’