नेपालद्वारा केन्यासामु १७६ रनको लक्ष्य

काठमाडौं । केन्याविरुद्ध जारी ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टिमसामु १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको छ । नौरोबीस्थित जिमखाना क्लब मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ज्ञानेन्द्र मल्लको अर्धशतकीय इनिङको सहयोगमा निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गर्यो ।

नेपालका लागि ओपनिङमा आएका ज्ञानेन्द्रले ४१ बलमा ५ चौका र १ छक्कासहित ५० रन पूरा गरेका हुन् । ज्ञानेन्द्रको यो अर्धशतक केन्या भ्रमणका क्रममा नेपाली खेलाडीले हानेको पहिलो अर्धशतक हो ।

नेपाली टिमका पूर्व कप्तानसमेत रहेका ज्ञानेन्द्रको ट्वान्टी २० करिअरमा भने यो दोस्रो अर्धशतक हो ।

यस्तै नेपाली टिमका उपकप्तान रोहित कुमार पौडेल भने तीन रनले अर्धशतक बनाउनबाट चुके । चौथो नम्बरमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका रोहितले आक्रामक ब्याटिङ गर्दै २५ बलमा ७ चौकासहित ४७ रन बनाएर पेभेलियन फर्किनु पर्यो ।

त्यसअघि ज्ञानेन्द्रसँगै ओपनिङमा आएका अर्जुन साउदले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै २१ बलमा २९ रन जोडेका थिए । वान् डाउनमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी १८ बलमा २२ रन जोडेर पेभेलियन फर्केका थिए । त्यसबाहेक अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

केन्याका लागि नेहेमिया ओडियाम्बो, शेम एनगोचे र भिराज पटेलले दुई÷दुई विकेट लिए ।

घरेलु टिमविरुद्धको शंखलाअन्तर्गत नेपालले आज खेलिरहेको पाँचौं ट्वान्टी २० हो । यसअघिको नतिजा २–२ छ । आजको खेलमा जित निकाल्ने टिमले शृंखला आफ्नो पक्षमा पार्ने छ ।