एन्टोनी

एन्टोनी युनाइटेडमा अनुबन्धित

लन्डन । म्यानचेस्टर युनाइटेड अन्ततः लामो समयदेखि नाम जोडिँदै आएका ब्राजिलियन फरवार्ड एन्टोनीलाई अनुबन्ध गरेको छ । अयाक्सका २२ वर्षीय फरवार्ड भित्र्याउन युनाइटेड करिब ८६.४ मिलियन पाउन्ड खर्चिन तयार भएसँगै सम्झौता अन्तिम चरणमा पुगेको थियो ।

सोमबार स्वास्थ्य परीक्षणका लागि बेलायत पुगेका एन्टोनीलाई युनाइटेडले मंगलबार सार्वजनिक गरेको छ ।

एन्टोनी अयाक्सबाटै यो सिजन युनाइटेड पुगेका मुख्य प्रशिक्षक एरिक टेन हागले सबैभन्दा धेरै चाहेका फरवार्ड हुन् । तर, अयाक्सले एन्टोनीलाई राख्न हरसम्भव प्रसास गरेको थियो । जसका कारण ट्रान्सफर विन्डो खुल्दा सुरु भएको चर्चा झण्डै बन्द हुने समयमा मात्रै सफल भएको छ ।

ब्राजिलियन युवा फरवार्ड एन्टोनीले युनाइटेडसँग पाँच वर्षको सम्झौतामा हस्ताक्षर गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् । एन्टोनीले साओपाउलो र अयाक्सबाट १ सय ३४ खेल खेलका छन् भने ३१ गोल र २७ असिस्ट गरेका छन् । यस्तै ब्राजिलबाट ९ खेल खेलेका एन्टोनीले दुई गोल र दुई असिस्ट गरेका छन् ।