मनोज प्रभाकर

प्रशिक्षक प्रभाकरका चर्चित किस्सा

नेपाल क्रिकेट संघ (क्यान) ले साउन २३ गते  भारतीय पूर्वअलराउन्डर मनोज प्रभाकरलाई राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक जिम्मेवारी सुम्पियो । क्यानको यो निर्णयलाई केहीले खुलेर प्रशंसा गर्दा केहीले भने उनको विगतका आचरणका कारण प्रश्नहरूसमेत उठाए ।

उनको नाममा टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनिङ बलिङ र ब्याटिङ गर्ने पहिलो भारतीय क्रिकेटरको कीर्तिमान छ । उनले टेस्टका ३९ मध्ये २१ खेलमा ओपनिङ ब्याटिङ र बलिङ गरेका थिए ।

५९ वर्षीय प्रभाकरले भारतको राष्ट्रिय टिमबाट ३९ टेस्ट र १ सय ५७ अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेलेका छन् । यसै आधारमा पनि नेपाली क्रिकेटमा प्रशिक्षकको भूमिकामा आएका प्रभाकर अहिलेसम्मकै उच्च स्तरीय व्यक्तित्व हुन्भन्दा फरक नपर्ला ।

उनको नाममा टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ओपनिङ बलिङ र ब्याटिङ गर्ने पहिलो भारतीय क्रिकेटरको कीर्तिमान छ । उनले टेस्टका ३९ मध्ये २१ खेलमा ओपनिङ ब्याटिङ र बलिङ गरेका थिए । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै पटक ओपनिङ ब्याटिङ र बलिङमा आउने क्रिकेटर हुन् ।

उनी आफ्नो समयका उम्दा अलराउन्डर थिए । यसको गतिलो प्रमाण उनी त्यसबेला भारतीय टिमको ओपनिङ ब्याटिङ र बलिङमा आउँथे । सन् १९९६ मा राष्ट्रिय टिममा संन्यास लिनुअघि प्रभाकरले भारतीय राष्ट्रिय टिमबाट टेस्टमा २ हजार ५ सय ८१ रन र एकदिवसीयमा ४ हजार ५ सय ३४ रन बनाउँदा बलिङमा टेस्टतर्फ ९६ विकेट र एकदिवसीयमा १ सय ५७ विकेट लिए । तर, उत्कृष्ट क्रिकेट करियरका बावजुद उनको संन्यास भने सम्झनलायक रहेन ।

उनै प्रभाकरको सम्बन्धमा खेलाडीले तयार पारेको चर्चित किस्सा:

बिर्सनलायक संन्यास

सन् १९८४ अप्रिल ८ मा श्रीलंकाविरुद्धको एकदिवसीय खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका प्रभाकरले त्यसपछि विभिन्न उतारचढाव पार गर्दै आफूलाई उत्कृष्ट अलराउन्डरको रूपमा उभ्याए । तर, उत्कृष्ट क्रिकेट करियरका बावजुद प्रभाकरको संन्यास भने सम्झनलायक रहेन ।

सन् १९९६ मार्च २ मा प्रभाकर राष्ट्रिय टिममबाट अन्तिम खेलको रूपमा श्रीलंकाविरुद्ध नै मैदान उत्रिए । एकदिवसीय विश्वकपअन्तर्गत समूह चरणको उक्त खेलमा श्रीलंकन ब्याटर सनथ जयसूर्याले प्रभाकरको पहिलो २ ओभरमा नै ३३ रन प्रहार गरेका थिए ।

दिल्लीस्थित फिरोज शाह कोटला रंगशालामा सम्पन्न खेलमा निराशाजनक प्रदर्शन गरेका उनले ४ ओभर बलिङ गरेका उनले ४७ रन खर्चिए र विकेट पनि लिन सकेनन् । जसका कारण उनले अर्को खेलको पहिलो रोजाइमा स्थान बनाउन सकेनन् । लगत्तै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट बल र ब्याट बिसाउने घोषणा गरे ।

म्याचफिक्सिङ

निर्विवाद रूपमा प्रभाकर भारतीय क्रिकेटले पाएको एक उच्च स्तरका अलराउन्डर हुन् । तर, तीतो यथार्थ प्रभाकरलाई जहिले सम्झिए पनि उनसँगै ‘म्याच फिक्सिङ’ र सट्टेबाजीको प्रसंग जोडिएर आउने गर्दछ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का पूर्वअध्यक्ष इन्द्रजित सिंह बिन्द्राले पनि प्रभाकरले आफूलाई कपिलले घुस दिन खोजेको विषय खुलाएका थिए ।

सन् २००० को मे मा प्रभाकरले आफ्नै समयका सहकर्मी कपिल देवविरुद्ध ‘म्याच फिक्सिङ’को आरोप लगाए । जसमा उनले श्रीलंकामा भएको एकदिवसीय शृंखलामा आफूलाई खराब प्रदर्शनका लागि कपिलले २५ लाख भारतीय रुपैयाँ प्रस्ताव गरेको सनसनीपूर्ण खुलासा गरे । तर, उनले यसमा पर्याप्त प्रमाण प्रस्तुत गर्न भने सकेनन् ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) का पूर्वअध्यक्ष इन्द्रजित सिंह बिन्द्राले पनि प्रभाकरले आफूलाई कपिलले घुस दिन खोजेको विषय खुलाएका थिए ।

प्रभाकरको आरोप कपिलले कडा रूपमा विरोध गरे । यता, प्रभाकर तहल्का डटकमका ‘स्टिङ अपरेसन’ विज्ञहरूसँग मिलेर जासुस क्यामेराहरूका साथ केही खेलाडीसँग भेटघाट गरे । त्यसका टेपहरू सार्वजनिक गरियो र पछि यसैमा आधारित ‘फलन हिरो’ नामक पुस्तक सार्वजनिक भयो । जसले त्यसबेला पूरा भारतलाई हल्लाएको थियो ।

तर, उक्त टेपहरू प्रत्यक्ष सबुत थिएन । यसमा धेरै जनाको संग्लनताको बारेमा खुलेर कुरा गरिएको थियो । तर, यी कुराहरू अदालतबाट प्रमाणित गर्न पर्याप्त थिएन । यही बेला कपिल बिबिसीसँगको अन्तरवार्तामै निकै भावुक बने । आरोपबारे प्रश्न सोध्दा उनी बेस्सरी रोए । केहीका लागि उक्त कपिलको आँसुले नै प्रभाकरको गम्भीर आरोप बगायो । तर, केहीका लागि भने यो सहानुभूति बटुल्न कपिलले रचेको ‘मिडिया स्टन्ड’ थियो ।

सिबिआई र आयकर विभाग भारतीय क्रिकेटको सबैभन्दा सनसनीपूर्ण अनुसन्धानमा सामेल भए । आश्चर्यजनक रूपमा प्रभाकरकै आर्थिक संशाधनको छानशिन गरियो । अझ गजबको कुरा, फलन हिरो बजारबाट एकाएक हराउँदै गयो ।

अन्तिम फैसलाले कपिललाई सफाइ थियो । र, उल्टै प्रभाकरसहित मोहम्मद अजहरूद्दिन, मोन्गिया, अजय जडेजा, अजय शर्मा र फिजियो डाक्टर अली इरानीलाई दोषी ठहर गरियो । प्रभाकरलाई बिसिसीआईले पाँच वर्षको प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

व्यक्तिगत जीवन र बहुविवाह

व्यक्तिगत जीवनको कुरा गर्दा प्रभाकरका तीन छोराहरू छन् । उनले दुई विवाह गरेका थिए । उनको पहिलो श्रीमतीको नाम सन्ध्या प्रभाकर हो । उनले सन् १९८६ मा सन्ध्यासँग विवाह गरेका थिए । तर, सन् २००८ मा उनीहरूको सम्बन्धविच्छेद गरेका थिए । सन्ध्यातर्फ उनका एक छोरा छन् । यस्तै, उनले दोस्रो विवाह भारतीय अभिनेत्री फरहिनसँग गरेकाथिए । जो, चर्चित बलिउड अभिनेत्री माधुरी दिक्षित जस्तै अनुहारका कारण चर्चित छिन् । प्रभाकर र फरहिनका दुई सन्तान छन् ।

सन् १९९६ मा भारतीय कंग्रेसबाट संसदीय चुनावमा उठेका प्रभाकरले पराजित भएसँगै उनको राजनीतिले सफलता पाउन सकेन ।

प्रशिक्षण यात्रा

खेल जीवनमा विभिन्न उतारचढाव पार गरेका प्रभाकरले प्रशिक्षण यात्रा पनि निर्विवाद छैन । उनले रणजी ट्रफीमा दिल्ली क्रिकेट टिमको बलिङ प्रशिक्षकको रूपमा काम गरेका थिए । उनी बलिङ प्रशिक्षक रहँदा सन् २००८ मा दिल्लीले रणजी ट्रफीको उपाधि जितेको थियो । यस्तै, उनले रणजीकै अर्को क्लब राजस्थान क्रिकेट टिमको मुख्य प्रशिक्षण पनि सम्हाले ।

सन् २०११ मा दिल्लीले उनलाई टिम व्यवस्थापनका बारेमा सञ्चारमाध्यममा बोलेको भन्दै बर्खास्त गरेको थियो । यसपछि उनले सन् २०१५ मा अफगानिस्तानको बलिङ प्रशिक्षणको जिम्मेवारी पाएका थिए । हाल क्यानले उनलाई नेपाली राष्ट्रिय टिमको जिम्मेवारी सुम्पिएको छ ।