नेपाली क्रिकेट

पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रभाकरलाई राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारी सुम्पिएको जनाएको हो । प्रभाकरले भारतीय टिमबाट ३९ टेस्ट र एक ३० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

प्रभाकरसँग अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिम र रणजी ट्रफीका टिमहरु दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसियसनको प्रशिक्षण सम्हालेको अनुभव छ ।

‘नेपालमा रहेको क्रिकेटप्रतिको लगाव, उनीहरुको प्रतिभा र कौशलता देख्दा म नेपाललाई क्रिकेटको शक्तिको रुपमा विकाश गर्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमसँग सहकार्यका लागि तयार छु,’ नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रभाकरले भने ।्

५९ वर्षीय प्रभाकर सन् १९८४ देखि १९९६ सम्म भारतको राष्ट्रिय क्रिकेट टिमबाट खेलेका थिए ।

पूर्व प्रशिक्षक पुबुदु दासानायकेले अप्रत्यासित राजीनामा दिएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षण खाली थियो । राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएको एक वर्ष पनि बित्न नपाउँदै दासानायकेले साउन चार गते नेपाली टिमको प्रशिक्षण छोड्ने घोषणा गरेका थिए । व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका पुबुदु हाल क्यानडाको प्रशिक्षण सम्हालिरहेका छन् ।