नवाैं राष्ट्रिय खेलकुद

नवौंं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुन्छः सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आगामी असोज २८ गतेदेखि कात्तिक तीन गतेसम्म गण्डकी प्रदेशमा हुने नवौंं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै हुने बताएका छन् ।

पोखरा रंगशालामा सोमबार भएको पत्रकार सम्मेलनमा सदस्य–सचिव घिसिङले नवौं खेलकुदको मिति बारम्बार परिर्वतन भए पनि यो पटक तोकिएकै मितिमा हुने बताए ।

सरकारले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै नवौं खेलकुद निर्धारित मितिमा नहुने आशंका बढेको थियो । जसको खण्डन गर्दै घिसिङले त्यसको बाहनामा खेलकुद नसर्ने स्पष्ट पारे ।

‘प्रतियोगिता २०७५ सालमा हुने भनिएको थियो । १०औं खेलकुद हुने बेलासम्म पनि नवौं खेलकुद भएको छैन । कोरोनाका कारण भनिएको छ । आरोप कसैलाई लगाउँदैन,’ उनले भने, ‘अब त्यो बहानामा पछाडी सार्नु हुँदैन ।’

निर्वाचनले प्रतियोगितालाई प्रभाव नपार्ने गरी कार्यसूचि निकाल्न निर्वाचन आयोगलाई राखेपबाट परिपत्र गरिएको घिसिङले बताए ।

‘सरकारले मंसिर चार गते निर्वाचनको घोषणा गरेको छ । नोमिनेसन दर्ता कार्यक्रम एक महिना अगाडी जसो हुन्छ, निर्वाचनले नोमिनेसनका कार्यक्रम नवौं खेलकुदसँग नजुध्ने गरी मिति तोक्न परिपत्र गरेका छौं,’ उनले भने ।

प्रतियोगितामा ३६ खेलमा चार सय सात इभेन्ट समावेश गरिएको छ । पुरुषतर्फ दुई सय २० र महिलातर्फ एक सय ८७ इभेन्ट समावेश छन् । प्रत्येक इभेन्टमा चारभन्दा कम प्रतिस्पर्धी भएमा सो इभेन्ट सञ्चालन नगरिने सदस्य सचिव घिसिङले बताए ।

हरेक खेलको स्वर्णपदक जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्णपदक जित्ने खेलाडीले १५ हजार प्राप्त गर्नेछन् । खेलकुदमा राष्ट्रिय कीर्तिमान तोड्ने र नयाँ कीर्तिमान बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गरिनेछ । प्रतियोगिताको विजेता टिमलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गर्ने सदस्य–सचिव घिसिङले बताए । उक्त ट्रफी तीन विभागीय टिम र सबै प्रदेश भ्रमण गराई अन्तिम प्रतियोगिताका लागि गण्डकी प्रदेश ल्याउने उनको भनाई छ ।

प्रदेश तथा विभागीय टिमले आगामी भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्नेछ । निर्धारित समयमा दर्ता नभएकालाई पुनः परिपत्र गरी कारण बुझ्ने घिसिङले सुनाए ।  प्रतियोगितामा दुई खेलको प्रर्दशनीसमेत हुनेछ । सात प्रदेशसहित तीन विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रत्येक टिमबाट तीन सय ३९ महिला र तीन सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ ।

प्रतियोगिताका खेल गण्डकी प्रदेशको सबै जिल्लामा हुने छन् । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तीमा एक खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषद्लाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने निर्णय गर्नेछ ।

गण्डकी प्रदेशमा ३९ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो । उक्त प्रतियोगिता ०४० चैत १२ गतेदेखि २० गतेसम्म पोखराको पोखरा रंगशालामा भएको थियो । त्यो प्रतियोगिताको उद्घाटन तत्कालीन राजा वीरेन्द्रबाट भएको थियो । १४ अञ्चल समावेश रहेको उक्त प्रतियोगितामा कुल ५१ पदकसहित गण्डकी अञ्चल दोस्रो भएको थियो । ५० स्वर्णसहित १ सय ३७ पदक जित्दै वाग्मती अञ्चल प्रथम बनेको थियो ।