एसिया कप युएईमा हुने

आबुधाबी । एसिया कप  २०२२ संयुक्तअरब इमिरेट्स (युएई) मा हुने भएको छ । 

प्रतियोगिता यसअघि श्रीलंकामा आयोजना हुने तय थियो । तर श्रीलंका राजनितिक तथा चरम आर्थिकसंकटबाट गुज्रिरहेको छ । त्यसैले प्रतियोगिता श्रीलंकाबाट युएईमा सारिएको हो । 

अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म आयोजना हुने प्रतियोगितामा ९ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

‘श्रीलंकाले प्रतियोगिता आयोजना गर्नका लागि प्रयास गरिरहेको थियो । तर, धेरै छलफलपछि प्रतियोगिता युएईमा सार्ने निर्णय भयो,’ एसिसीका अध्यक्ष जय शाहले भने, ‘अब प्रतियोगिता युएईमा हुनेछ । यद्धपी श्रीलंकासँग प्रतियोगिता आयोजकको अधिकार कायम रहनेछ ।’

खाद्यन्न र आर्थिक समस्याबाट गुज्रिरहेको श्रीलंकाले हालै मात्रै अस्ट्रेलिया र पाकिस्तानविरुद्धको दुई टेस्ट शृंखला आयोजना गरेको थियो । तर, एसिया कपमा सहभागी टोलीहरुको संख्या धेरै हुने भएकाले ती टोलीहरको व्यवस्थापनमा चुनौती हुने भन्दै प्रतियोगिता युएईमा सारिएको हो ।

‘दुई टिमको शृंखला आयोजना गर्नु र १० टिमको प्रतियोगिता आयोजना गर्नु समान हुँदैन,’ श्रीलंका क्रिकेट बोर्डका  प्रमुख कार्यकारी अधिकृत एस्ली डी सिल्भाले १० दिनअघि भनेका थिए, ‘हामी अहिले धेरै टोलीहरुको व्यवास्थापन गर्न असमर्थ छौ ।’

एसिसीले प्रतियोगिता आयोजना गर्ने स्थलको विकल्प सीमित मात्रामा राखेको थियो । जहाँ भारतमा मनसुन हुने भएकाले एसिसीले युएईमा ट्वान्टी २०  एसिया कप  आयोजना गर्ने निर्णय गरेको हो । 

सन् २०१८ मा भएको एसिया कप ट्वान्टी २० संरचनामा खेलाइएको थियो र अक्टोबरमा हुने विश्वकपको लागि तयारी गरिएको थियो । छनोट चरणमा युएई, कुवेत, सिङ्गापुर र हङकङले प्रतिस्पर्धा गर्नेछन् । विजेता टिमले श्रीलंका, भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।