साफ यु २० च्याम्पियनसिप

शीर्ष स्थानमा उक्लिने बंगलादेशको लक्ष्य, भारत पहिलो जितको खोजीमा

काठमाडौं ।  साफ यु २० च्याम्पियनसिप अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् ।

भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भिडन्त हुनेछ ।

नेपाली समय अनुसार दिउसो सवा चार बजे सुरु हुने खेलमा भारत र श्रीलकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजिमा छन् ।  

भारतको यो दोस्रो खेल हो । यस अघि बुधबार भएको खेलमा भारत बंगलादेशसँग २–१ ले पराजित भएको थियो । यता, श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १–० र नेपालसँग ३–० ले पराजित भएको थियो ।

दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन् । बंगलादेश लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ । जितसँगै बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल नजिक हुन चाहन्छ ।  माल्दिभ्स भने पहिलो जित निकाल्ने लक्ष्यमा छ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो । खेल नेपाली समय अनुसार राति सवा सात बजे सुरु हुनेछ ।

जारी प्रतियोगिता २ खेलबाट समान ६ अंक भएपनि नेपाल गोलअन्तरको आधारमा शीर्षस्थानमा छ भने सामना अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । यस्तै भारत, माल्दिभ्स र श्रीलंकाले अंक खाता खोलेका छैनन ।
तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस अघि यु १८ र यु १९ को आधारमा भएको प्रतियोगिता पहिलो पटक यु २० को आधारमा भएको हो । नेपाल दुई पटकको च्याम्पियन हो भने भारत साविक विजेता हो ।