यु १६ नेक्सस कप ट्वान्टी २० क्रिकेट

अपन राधेमाई फाइनलमा

काठमाडौं । अपन राधेमाई युथ क्लब यु १६ नेक्सस कप ट्वान्टी २० क्रिकेट सिजन ५ को फाइनलमा प्रवेश गरेको छ ।

आइतबार मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

पहिले ब्याटिङमा राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा एक सय २९ रन खडा गरेको थियो । राधेमाईका सागिर मियाले ३०, सजित अख्तर हवारीले २८ र सफ्वान अलीले १९ रन बनाए ।

एक सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउदै मात्र ३९ रनमा खुम्चियो ।

बलिङतर्फ राधेमाईका ‘म्यान अफ द म्याच’ घोषित भएका अनिश साह कानुले चार विकेट लिए । उनले तीन ओभरमा एक मेडनसहित मात्र ५ रन खर्चिए । राधेमाईकै वसिम अली मन्सुरी र रोहन यादवले समान दुई विकेट लिए ।

जितसँगै उपाधिका लागि राधेमाईले ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर र आयोजक नेक्सस क्रिकेट एकेडेमीबीचको विजेतासँगको भेट पक्का गरेको छ । जिएचसीए र नेक्ससबीचको सेमिफाइनल आइतबारै हुनु पर्नेमा वर्षाका कारण खेल सम्भव भएन । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिताको अर्को सेमिफाइनल सोमबार हुनेछ ।