एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिप

नेपालको एसिया कप लक्ष्यमा वर्षा बाधक

काठमाडौं । वर्षा बाधक बनेसँगै नेपाली महिला क्रिकेट टोलीको एसिया कप छनोट लक्ष्यले पूर्याता पाएन ।

शुक्रबार एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा फिल्डिङ रोजेको नेपाललाई संयुक्त अरब इमिरेट्स (युएई) ले ८२ रनको लक्ष्य दिएको थियो ।

 तर लगातारको वर्षाका कारण दोस्रो इनिङ  सम्भव नभएपछि खेल रद्द भयो । प्रतियोगिताको नियम अनुसार युएई समूह ‘ए’ को विजेताको रुपमा फाइनल प्रवेश गर्दै एसिया कपमा छनोट भयो । 

यसअघि  मलेसियाको क्वालालम्पुरमा भएको खेलमा युएईले १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनको योगफल तयार गरेको थियो ।

युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुशी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्ल्ख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले ४ ओभरमा ३ तथा सीता राना मगरले पनि ४ ओभरमा २ विकेट लिइन् ।

८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणका चार मध्ये तीन खेल जित्ने क्रममा नेपालले भुटान, कुवेत र बहराइनलाई हराएको थियो भने समूह विजेताका लागि भएको भिडन्तमा हङकङलाई नतिजा सुम्पिएको थियो ।