महिला क्रिकेट

महिला ट्वान्टी २० च्याम्पियनसिप: फाइनल पुग्न नेपाललाई ८२ रनको लक्ष्य

काठमाडौं । महिला ट्वान्टी २० च्याम्पियनसिपको सेमिफाइलनमा टस जितेर फिल्डिङ रोजेको नेपालसामु युएईले ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालम्पुरमा जारी खेलमा युएईले १९.५ ओभरमा सबै विकेट गुमाएर ८१ रनको योगफल तयार गर्यो ।

युएईका लागि वैष्णवी महेशले १६, एसा रोहितले १५, छाया मुगलले १४ र खुशी शर्माले १२ रनबाहेक अन्य ब्याटरले उल्ल्ख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि युवा बलर अस्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन खर्चेर सर्वाधिक ५ विकेट लिइन् । यस्तै उपकप्तान इन्दु वर्माले ४ ओभरमा ३ तथा सीता राना मगरले पनि ४ ओभरमा २ विकेट लिइन् ।

८ः१५ मा सुरु हुने तालिका रहे पनि वर्षाका कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो ।

नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर छ ।  प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् ।

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह चरणका चार मध्ये तीन खेल जित्ने क्रममा नेपालले भुटान, कुवेत र बहराइनलाई हराएको थियो भने समूह विजेताका लागि भएको भिडन्तमा हङकङलाई नतिजा सुम्पिएको थियो ।

ट्वान्टी २० क्रिकेटमा नेपाल र युएई अहिले सम्म तीन पटक आमने सामने भएका छन् । जसमा नेपालले दुई खेल जितेको छ भने एक खेलमा नतिजा सुम्पिएको छ ।