बजेट एयरसँग क्यानको साझेदारी, खेलाडी भोकै

काठमाडौं, (खेलाडी)- नेपाल क्रिकेट संघ (क्यान) को लापरवाहीका कारण आइसिसी विश्व क्रिकेट लिग २ खेल्न ओमान जाँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी तथा सदस्यले अनावश्यक सास्ती बेहोर्नुपरेको छ । 

क्यानले ओमान भ्रमणका लागि साझेदारका रुपमा सम्झौता गरेको सलाम एयरले नेपाली राष्ट्रिय टोलीका सदस्यहरुलाई भौकै पारेको दुखेसो भ्रमण दलका एक सदस्यले खेलाडीसँग पोखे । 

‘बजेट एयर भनेर खाना दिएन । आफैले किनेर खानुपर्छ भन्यो । सबै खेलाडीले आफै पैसा तिरेर खाए । तर अन्तिममा खाना सकिएको भनेर केही खेलाडीलाई समेत भोकै पार्‍यो,’ नेपाली टिमबाट ओमान पुगेका एक सदस्यले प्रश्न गरे, ‘बजेट एयर भन्ने क्यानलाई थाहा थिएन ? बजेट एयरमा राष्ट्रिय टिम पठाउने भएपछि पहिल्यै खाना बुक गर्नु पर्दैनथ्यो ? अनि खाना पनि किनेर खानु पर्ने भए सलाम एयरसँग साझेदार गरेको के अर्थ रहयो त ?’

नेपाली टोलीका खेलाडी तथा अन्य सदस्यले यात्राको दौरान खाना खान नपाउँदा अपमान महशुष गरेको ती सदस्यले बताए । भने, ‘पैसाको कुरा होइन । कुरा खानाकोमात्र पनि होइन । कुरा राष्ट्रिय खेलाडीको सम्मानको हो । यो अत्यन्तै सम्वेदनशील विषय हो । यस्तो विषयमा पनि क्यान गम्भीर भएन । दुःखको कुरा त्यो हो ।’

क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले ‘बजेट एयर भएकाले प्लेनमा खाना खान नदिएको भन्ने’ कुरा आफूले पनि सुनेको बताए । 

अस्वस्थताका कारण केही दिनदेखि घरमै आराम गरिरहेका सचिव प्याकुर्‍यालले खेलाडीसँग भने, ‘तर खेलाडीले आफै पैसा तिरेर खानुपर्ने अवस्था होइन । त्यहाँ यस्तै भैपरी आउने समस्या समाधानका लागि टिम व्यवस्थापक पनि हुनुहुन्छ । महामारीको यो कठिन समयमा अनेक खालका नसोचेका समस्या आउन सक्छन् भनेर त्यसलाई समेत पुग्ने गरी पर्याप्त रकम हामीले पठाएका छौं ।’

क्यानका केन्द्रिय सदस्य मोहम्मद दाउद अन्सारी टिम व्यवस्थापकका रुपमा ओमान गएका छन् ।