सन्दीप दोस्रो पटक बिगबास लिगको टोली हुरिकान्समा अनुबन्ध

काठमाडौं, (खेलाडी)- अस्ट्रेलियन बिग बास लिग (बिबिएल)को टोली होबार्ट हुरिकान्सले नेपाली राष्ट्रिय टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेलाई आसन्न सिजनका लागि पुन : अनुबन्ध गरेको छ ।

मेलबर्न स्टार्सबाट बिबिएलका दुई सिजन खेलेपछि गत सिजन सन्दीप हुरिकान्ससँग अनुबन्धित भएका थिए । जनवरीमा बिबिएलमा उनले आठ खेल खेलेका थिए । यो वर्ष २०२१ मा उनले खेलेको विश्वभरका फ्रेन्चाइज लिगमध्ये त्यहीमात्र एक हो । 

‘म अस्ट्रेलिया फर्किन र हुरिकान्सबाट यो वर्ष फेरी खेल्नका लागि प्रतिक्षारत छु,’ सन्दीपले क्रिकइन्फोसँग भनेका छन्, ‘गत सिजन हुरिकान्सबाट खेल्दाको समय मैले निक्कै मज्जा लिएँ । टिमलाई सफलता दिलाउनका लागि म आफ्नो तर्फबाट राम्रो प्रदर्शन गर्न सक्षम हुने आशामा छु ।’

सन्दीपले हुरिकान्समा गत वर्ष उत्कृष्ट खेलाडीहरुको समूह रहेको र यो वर्ष पनि तिमध्ये धेरै सँगै हुने भएकाले आफू आशावादी रहेको बताए ।

२१ वर्षे स्टारले कोभिड १९ महामारीका कारण बेलायती सरकारले लागु गरेको मापदण्डबाट सिर्जित भिसा समस्याका कारण यो वर्ष दी हन्ड्रेड र इङ्ल्यान्डको भिटालिटी ब्लास्ट खेल्न पाएका थिएनन् । 

क्यारेबियन प्रिमियर लिग (सिपिएल) का लागि उनले ट्रिनबागो नाइट राइडर्ससँग गत मेमा सम्झौता गरेका थिए । तर राष्ट्रिय टोलीका लागि विश्वकप क्रिकेट लिग दुई खेल्न ओमान जानुपरेका कारण उनले त्यो प्रतियोगिता त्याग गरिसकेका छन् ।

हुरिकान्सले अहिलेसम्म अनुबन्ध गरेकामा सन्दीप एकमात्र विदेशी खेलाडी हुन् । अस्ट्रेलियन सरकारले कोभिड १९ महामारीका कारण अन्य देशबाट आउने प्रत्येक मानिसले अनिवार्य १४ दिनको कडा होटल क्वारेन्टिन बस्नुपर्ने नियम लगाएकाले विदेशी खेलाडी अनुबन्धनका लागि बिबिएलका टोलीहरु समस्यामा छन् ।

हुरिकान्सको टोली : स्कट बोल्यान्ड, टिम डेविड, नाथान इलिस, पिटर ह्यान्ड्सकम्ब, कालेब जेवेल, जोस कान, सन्दीप लामिछाने, बेन म्याकडेर्मोट, रिले मेरेडिथ, मिच ओवन, जोइल पेरिस, विल पार्कर, डीआर्की सर्ट, म्याथु वाडे, म्याक राइट ।