नेपाली टोलीको युवा क्रिकेट विश्वकप खेल्ने सम्भावना समाप्त

काठमाडौं, (खेलाडी)- अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यु १९ विश्वकपका लागि अमेरिका, एसिया र इएपी छनोट प्रतियोगिता कोभिड १९ महामारीका कारण रद्ध गरेपछि नेपाली युवा टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।

आइसिसी विकास कमिटी र आइसिसी बोर्डबाट पारित मापदण्डअनुसार यी तीन क्षेत्रका छनोट प्रतियोगिता हुन नसक्ने आइसिसीले जनाएको छ । 

छनोट प्रतियोगिता रद्ध गरेपछि आइसिसीले यु १९ विश्वकपको छनोटअन्तर्गत यसअघि सम्पन्न भइसेकका पाँच प्रतिस्पर्धाको नतिजालाई आधार मानेर क्यानाडा, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनीलाई अर्को वर्ष हुने पुरुष युवा विश्वकपका लागि छानिएको बताएको छ । 

‘कोभिड १९ महामारीको अवस्था नियन्त्रणमा नआउँदा यु १९ विश्वकपअन्तर्गत तीन वटा क्षेत्रीय छनोट प्रतियोगिता रद्ध गर्न आइसिसी बाध्य भएको छ । जुन अत्यन्तै निराशाजनक कुरा हो,’ आइसिसीका प्रतियोगिता प्रमूख क्रिस टेट्लेले भनेका छन् ।